काठमाडौं- राष्ट्रिय सहकारी बैंकको खुद नाफा ३६.६९ प्रतिशतले बढेको छ। बैंकले गत आर्थिक वर्षमा ६८ करोड १८ लाख ५२ हजार रुपैयाँ खुद नाफा गरेको छ।
अघिल्लो आर्थिक वर्षमा बैंकले ४९ करोड ८८ लाख २६ हजार रुपैयाँ खुद नाफा कमाएको थियो।
त्यस्तै बैंकले अघिल्लो वर्षको तुलनामा गत वर्ष ब्याज आम्दानी १८ करोड ५४ लाख १५ हजार रुपैयाँ बढी गरेको छ। भने खुद सञ्चालन आम्दानी १५ करोड ३१ लाख ४४ हजार रुपैयाँले बढेको छ।
बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा लगानी भने पर्याप्त गर्न सकेको छैन। अघिल्लो आर्थिक वर्षमा बैंकको ‘सिसिडी रेसियो’ ६४.५३ प्रतिशत रहेकोमा गत आर्थिक वर्षमा घटेर ५४.१४ प्रतिशत रहेको छ।
कोभिड–१९ फैलन नदिन सरकारले गरेको लकडाउनका कारण व्यापार व्यवसाय ठप्प हुन गई सहकारीका सदस्यहरुले कर्जाको माग नगरी आफूसँग भएको निक्षेप मात्र राख्दा बैंकको कर्जा लगानी पर्याप्त नभएको बैंकले जनाएको छ।
त्यस्तै बैंकले निष्कृय कर्जा भने राम्रोसँग उठाएको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १.३४ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा गत आर्थिक वर्षमा घटेर ०.७० मा ल्याएको छ। यो सहकारी बैंकको ठूलो सफलता हो। केही वर्षअघि सहकारी बैंकको खराब कर्जा ४ प्रतिशतभन्दा माथि थियो।
त्यस्तै बैंकले आफ्नो सेयर पूँजी बढाएर २ अर्ब २२ करोड ३८ लाख ९९ हजार रुपैयाँ पुर्याएको छ। अघिल्लो आर्थिक वर्षमा सेयर पूँजी १ अर्ब ५७ करोड ८० लाख रुपैयाँ थियो।
बैंकको गत आर्थिक वर्षमा ४६ अर्ब ८८ करोड ३० लाख ६१ हजार रुपैयाँ निक्षेप रहेको छ। अघिल्लो आर्थिक वर्षमा यस्तो निक्षेप २७ अर्ब ९५ करोड ८१ लाख २५ हजार थियो।
त्यस्तै कर्जा तर्फ बैंकले गत आर्थिक वर्षमा २६ अर्ब ६९ करोड ८५ लाख ९६ हजार रुपैयाँ लगानी गरेको छ। अघिल्लो आर्थिक वर्षमा १९ अर्ब २ करोड २० लाख ११ हजार रुपैयाँ कर्जा प्रबाह गरेको थियो।