बिहीबार, भदौ ११, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको चुनाव फेरि अनिश्चित, चुनावी मोडालिटी बनाउन समिति गठन

उद्योग वाणिज्य महासंघको चुनाव फेरि अनिश्चित, चुनावी मोडालिटी बनाउन समिति गठन

नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सहितको ५४औं वार्षिक साधारणसभा पुनः अनिश्चित भएको छ।
 |  बुधबार, साउन २१, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन २१, २०७७

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सहितको ५४औं वार्षिक साधारणसभा पुनः अनिश्चित भएको छ।

बुधबार बसेको महासंघको भर्चुअल बैठकले साधारणसभाको मिति र सञ्चालन मोडालिटी तयार गर्न ६ सदस्यीय समिति गठन गरेको छ। सो समितिलाई १५ दिनको म्याद दिएपछि साधारणसभा झनै अनिश्चित भएको हो।

यसअघि महासंघले यही साउन २६ र २७ गतेका लागि निर्वाचन सहितको साधारणसभा तय गरेको थियो। तर, केही दिनअघि बसेको कार्यसमिति बैठकले अर्को निर्णय नभएसम्म निर्वाचन स्थगित गर्ने निर्णय गरेको थियो।

समितिमा जिल्ला तथा नगर उद्योग वाणिज्य संघको तर्फबाट डीबी बस्नेत र अरुणराज सुमार्गी, वस्तुगत संघको तर्फबाट विनोद ढकाल र सुनिलगोपाल श्रेष्ठ तथा एसोसिएटबाट भरत आचार्य र रञ्जित आचार्य रहेको महासंघका सदस्य डीबी बस्नेतले जानकारी दिएका छन्।

महासंघको कार्यकारिणी समितिको निर्वाचन र साधारणसभा सम्पन्न गर्न जिल्ला तथा नगर उद्योग वाणिज्य संघ, वस्तुगत संघ र एसोसिएटको तर्फबाट २/२ जना कार्यसमिति सदस्य रहेको समिति बनाउने निर्णय पनि भएको छ।

गत चैत मसान्तभित्र सम्पन्न हुनुपर्ने महासंघको निर्वाचन सहितको वार्षिक साधारणसभा कोरोना भाइरस (कोभिड-१९) को महामारीका कारण अहिलेसम्म हुन सकेको छैन।

प्रकाशित: Aug 05, 2020| 18:52 बुधबार, साउन २१, २०७७
प्रतिक्रिया दिनुहोस्