काठमाडौं– बैंक तथा वित्तीय संस्थाले कर्जाको ब्याजमा छुट दिने सन्दर्भमा नेपाल राष्ट्र बैंकको निर्देशनको खिल्ली उडाएका छन्।
राष्ट्र बैंकले बन्दाबन्दीका कारण समस्यामा परेका उद्योगी व्यवासायीलाई राहतस्वरुप ब्याज छुट दिन बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको थियो।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको ‘कोभिड १९ ले अर्थतन्त्रमा पारेको प्रभाव सम्बन्धी सर्वेक्षण प्रतिवेदन’ अनुसार ८० प्रतिशत उद्योगी–व्ययवसायीले कर्जाको ब्याजमा कुनै छुट पाएका छैनन्।
केन्द्रीय बैंकको तथ्यांक अनुसार व्याज छुट लिने व्यापारी व्यवसायी जम्मा २० प्रतिशत मात्र हुन् ।
जबकी राष्ट्र बैंकले गत बैशाख १ देखि लागू हुनेगरी कर्जामा २ प्रतिशत व्याज छुट दिन निर्देशन दिएको थियो।
बन्दाबन्दीमा ६१ प्रतिशत व्यवसाय बन्द
राष्ट्र बैंकको अध्ययनले बन्दाबन्दीको अवधिमा ६१ प्रतिशत उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहेको ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेको र ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेको जनाएको छ।
सर्वेक्षण प्रतिवेदन अनुसार निजी क्षेत्रले कुल २२.५ प्रतिशत कर्मचारी कटौती गरेको छ। कटौती भएकामध्ये अस्थायी तथा करारमा रहेका कामदारको हिस्सा दुई तिहाइभन्दा धेरै छ। सो अवधिमा होटल तथा रेष्टुरेन्ट क्षेत्रले सबैभन्दा धेरै कर्मचारी/कामदार कटौती गरेको देखिएको छ।
बन्दाबन्दीको अवधिमा घरेलु उद्योग र लघु उद्यम/साना खुद्रा व्यापारहरुले अन्यको तुलनामा धेरै कर्मचारी/कामदार कटौती गरेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी बन्दाबन्दीमा १८.२ प्रतिशत उद्योग व्यवसायले तलब कटौती गरेको पाइएको छ। तलब कटौती गर्नेमा होटल तथा रेष्टुरेन्ट, यातायात तथा भण्डारण र शिक्षा क्षेत्र अगाडि छन्। यस्तै, ठूला उद्योग/व्यवसायले अन्यको तुलनामा धेरै तलब कटौती गरेको पाइएको छ।
बन्दाबन्दीको अवधिमा सामान्य अवस्था भन्दा ७३.८ प्रतिशतले उद्योग तथा व्यवासायहरुको उत्पादन तथा कारोबार घटेको थियो।
त्यस्तै ०.९ प्रतिशत उद्योग/व्यवसायहरुको उत्पादन/कारोबार १५.४ प्रतिशतले बढेको र २.४ प्रतिशतको उत्पादन/कारोबार पूर्ववत रहेको पाइएको राष्ट्र बैंकले जनाएको छ ।
त्यस्तै ६९.९ प्रतिशत उद्योगी व्यवासायीले बजेटमा व्यवस्था भए बमोजिम ५ प्रतिशत व्याजदरमा कर्जा पाएमा कर्मचारीको जागिरलाई निरन्तरता दिने बताएका छन्।
सर्वेक्षणका अनुसार ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋणसहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।
कर्जा नलिएका उद्योग/व्यवसायहरुको संख्या जम्मा १२ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकले गरेको अध्ययनमा ५२ जिल्लाका ६७४ उद्योेगी/व्यवसायीहरुको सहभागिता थियो । औद्योगिक वर्गीकरणअनुसार थोक तथा खुद्रा व्यापारबाट सर्वाधिक २८.२ प्रतिशत, उत्पादनमूलक उद्योगबाट १८.२ प्रतिशत र होटल तथा रेष्टुरेन्टबाट १६.५ प्रतिशत नमुनाप्राप्त भएको राष्ट्र बैंकल जनाएको छ ।
सर्वेक्षणमा स्टार्टअप उद्योग/व्यवसायहरुको सहभागिता २३.७ प्रतिशत छ।