काठमाडौं– एनसेल अब पब्लिक कम्पनी भएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गरी प्राइभेटबाट पब्लिक कम्पनी भएको जनाएको हो।
पब्लिक कम्पनी भएसँगै ‘एनसेल प्रालि’ को नाम ‘एनसेल आजियाटा लिमिटेड’ भएको छ।
एनसेलले बुधबार जारी गरेको सूचनामा नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र कम्पनी रजिष्ट्रारको कार्यालयको साउन १९ गतेको निर्णय बमोजिम नाम परिर्वतन गरेको जनाएको छ ।
पब्लिक लिमिटेड कम्पनी भएसँगै अब एनसेलले सेयर (आइपीओ) जारी गर्न सक्नेछ ।
सरकारले आर्थिक वर्ष २०७५/७६ को बजेटमा एक अर्ब वा सो भन्दा बढी चुक्तापुँजी भएका कम्पनीलाई पब्लिक लिमिटेड कम्पनीमा रुपान्तरण गरी पुँजी बजारमा सूचिकृत हुनुपर्ने व्यवस्था गरेको थियो।
सो व्यवस्था गत आर्थिक वर्षमा लागू हुन सकेको थिएन। नेपालको कानुन अनुसार सर्वसाधरणमा सेयर जारी गर्न कुनैपनि कम्पनी प्राइभेट नभएर पब्लिक हुनुपर्ने पहिलो शर्त हो।
तर, नेपाल धितोपत्र बोर्डका अनुसार कम्पनी ऐनमा नै एक अर्ब वा सो भन्दा माथिको चुक्तापुँजी भएको कम्पनीले साधारण सेयर जारी गर्न पाउने व्यवस्था गरेमा मात्र एनसेलले साधारण सेयर जारी गर्न सक्छ ।
हालको कम्पनी ऐनमा त्यस्तो व्यवस्था नभएका कारण कम्पनी रजिष्ट्रारको कार्यालयले कम्पनी ऐन संसोधन विधेयक संसदमा दर्ता गरेकोे कम्पनी रजिष्ट्रारको कार्यालयका सूचना अधिकारी रामप्रसाद ढकालले जानकारी दिए। उक्त विधेयक अहिले अर्थसमितिमा छलफलमा छ।
विधेयक पारित भएपछि एकदुई वर्षभित्रै एनसेलले सर्वसाधारणको लागि सेयर जारी गर्ने कम्पनीले जनाएको छ।
अर्थमन्त्री डा.युवराज खतिवडाले विदेशी लगानीका ठूला कम्पनीले नेपालमै व्यापार गरेर कमाईको रकम विदेश लग्ने गरेको हुँदा सर्वसाधारणमा पनि सेयर जारी गरी नाफाको केही हिस्सा नेपाली लगानीकर्ताहरुले पाउनुपर्ने भन्दै एक अर्ब भन्दा बढी चुक्तापुँजी भएको कम्पनीले साधारण सेयर जारी गर्नुपर्ने नीतिगत व्यवस्था गरेका थिए।
अव एनसेल आजियाटाले ३० प्रतिशत सेयर सर्वसाधारणका लागि अनिवार्य जारी गर्नुपर्ने हुन्छ।
कुनै पनि कम्पनीमा सर्वसाधरणको लगानी भएमा सो कम्पनीले प्रत्येक त्रैमासमा आफ्नो वित्तीय विवरण अनिवार्य जारी गर्नुपर्ने नीतिगत व्यवस्था छ। आइपीओ जारी पश्चात् एनसेलको कारोबार पारदर्शी हुने र बारम्बार विवाद नपर्ने जानकारहरु बताउँछन्।
एनसेलसँगै अब नेपालमा एक अर्बभन्दा बढी चुक्तापुँजी भएका कम्पनीले अनिवार्य रुपमा आइपीओ जारी गर्नुपर्ने छ।