बुधबार, भदौ १०, २०८३

बुढीगण्डकी प्रभाव क्षेत्रमा ३४ अर्ब मुआव्जा वितरण

सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत डुबान क्षेत्रमा पर्ने ४ हजार ३९ रोपनीको मुआव्जा वितरण गरेको छ।
 |  सोमबार, साउन १९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, साउन १९, २०७७

काठमाडौं- सरकारले बुढीगण्डकी जलविद्युत आयोजनाअन्तर्गत डुबान क्षेत्रमा पर्ने ४ हजार ३९ रोपनीको मुआव्जा वितरण गरेको छ।

उर्जा मन्त्रालयले सोमबार पत्रकार सम्मेलन गरी बुढीगण्डकी जलविद्युत आयोजना अन्तर्गत पर्ने ४ हजार ३९ रोपनी जग्गाको ३३ अर्ब ८० करोड रुपैयाँ बराबरको मुआव्जा वितरण गरेको जानकारी दिएको छ।

मन्त्रालयका अनुसार सो आयोजनाअन्तर्गत ५८ हजार १ सय ५३ रोपनी जग्गा डुबानमा पर्दछ। उर्जा मन्त्रालयले बाँकी जग्गाको पनि मुआव्जा वितरण गरिने काम जारी रहेको जनाएको छ।

त्यस्तै मन्त्रालयले आफ्नो मातहतमा रहेका आठवटा र राष्ट्रिय गौरवका आयोजनाको काम रफ्तारमा अगाडि बढीरहेको दाबी गरेको छ।

विद्युततर्फ ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजनाको काममा ९९.७३ प्रतिशत भौतिक र ९८.६८ प्रतिशत वित्तिय प्रगति भएको छ।

गत आर्थिक वर्षमा उक्त आयोजनाका लागि १ अर्ब बजेट विनियोजन गरिएकामा शतप्रतिशत खर्च भएको छ। बाँकी रहेको काममध्ये हालसम्म ६२ वटा (३११ मिटर) माथिल्लो र ७४ वटा तल्लो पेनस्टक साफ (३७३ मिटर) जडान सकिएको छ। कूल २० वटा (१ सय मिटर) होराइजेन्टल पेनस्टक साफमध्ये ५ वटाको जडान भएको छ।

त्यस्तै उर्जा मन्त्रालय अन्तर्गत भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको १२.२ किलोमिटर सुरुङ निर्माणकार्य सम्पन्न भएको छ। यस्तै लकडाउनका समयमा समेत बाँध र विद्युत गृहको सिभिल निर्माणको काम भइरहेको मन्त्रालयले जनाएको छ।

यस्तै बबई सिँचाइ आयोजनाको हेडवक्र्सका साथै ७६.२० किलोमिटर मुल र १ सय ९१.३३ किलोमिटर शाखा नहर तथा बाढीबाट क्षति भएको थप १७.९२ किलोमिटर नहरको पुनर्निर्माण सम्पन्न भएको छ। रानी, जमरा, कुलरिया सिँचाइ आयोजनाको इन्टेक तथा फिडर नहर आधुनिकीकरणको काम शतप्रतिशत सम्पन्न भएको छ।

मूल नहर निर्माणको काम ९५ प्रतशित, संरचना निर्माण ९० प्रतिशत, हाइड्रोपावर निर्माण ७० प्रतिशत, तथा सिंचित क्षेत्र वचावटको काम ७५ प्रतिशत सम्पन्न भएको छ।

सिक्टा सिँचाइ आयोजनाको बाँध तथा ४५ किलोमिटर लामो पश्चिम मूल नहर निर्माणको काम सकिएको छ। यस्तै पश्चिम मूल नहरको सिधनिया शाखा सम्पन्न हुने चरणमा छ भने पूर्वी मूल नहर निर्माणको काम करिब ५० प्रतिशत सम्पन्न भएको छ। उक्त आयोजनाबाट पूर्व र पश्चिम गरी ७ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पुग्नेछ ।

यस्तै राष्ट्रिय गौरबको आयोजनामध्ये सुनकोसी-मरिन डाइभर्सन आयोजनाको वातावरणीय प्रभाव अध्ययन मूल्याङ्कन प्रतिवेदन (इआईए) स्वीकृत भइसकेको छ।

पावर हाउससहित संरचना निर्माणका लागि आवश्यक संरचना निर्माणका लागि जग्गा प्राप्तिको काम सम्पन्न भएको छ। यस्तै सुरुङ निर्माणका लागि लागत अनुमान तथा खरिद कागजात तयार भएको छ। हेडवक्स, पावर हाउस लगायत संरचनाको विस्तृत डिजाइनको काम जारी छ।

प्रकाशित: Aug 03, 2020| 18:30 सोमबार, साउन १९, २०७७
प्रतिक्रिया दिनुहोस्