काठमाडौं- चिकित्सक तथा जनस्वास्थ्य विज्ञहरूले कोरोना संक्रमणको जोखिम बढेकोले आमनागरिकले आवश्यक सतर्कता अपनाउनुपर्नेमा जोड दिएका छन्।
शनिबार आयोजित एक कार्यक्रममा चिकित्सकहरुले कोरोना संक्रमणको जोखिम बढेकोले सरकारले अहिले पीसीआर परीक्षणको दायरा बढाउनुपर्ने माग पनि गरे।
लकडाउन खुकुलो भएपछि कोरोना संक्रमणको जोखिम थप बढेको भन्दै आफ्नो व्यवहारमा परिवर्तन ल्याउनुपर्ने जोड दिए।
नागरिक समाजका अगुवासमेत रहेका चिकित्सक डा. सुन्दरमणि दिक्षितले कोरोना रोकथाम तथा नियन्त्रणको लागि आवश्यक कदम चाल्न दिएको सुझाव सरकारले नमानेको बताए।
भारतसँगको सिमा नाका बन्द गर्न दिएको सुझाव सरकारले स्वीकार नगर्दा जोखिम बढ्दै गएको उनले बताए।
‘अहिले स्वास्थ्यकर्मीहरु काम छोडेर भागेको भन्ने कुरा आएको छ। तराईमा कोरोना संक्रमण ठूलो मात्रामा देखिएको छ। भारतसँगको सीमा नाका पूर्ण रुपमा बन्द गर्नुपर्छ भनेर हामी धेरैपटक चिच्यायौँ। तर, सरकारले हाम्रो कुरै सुनेन।’ दिक्षितले भने।
उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र स्वास्थ्यमन्त्री भानुभक्त ढकालले आवश्यक कदम चाल्न नसकेको उनले आरोप लगाए।
उनले कोरोना संक्रमण रोगमा परिणत हुँदै गएपछि मात्रै कदम चाल्दा ढिलाई हुने भन्दै नेपालमा कोरोनाको जोखिम निम्त्याउने काम पनि सरकारले नै गरेको आरोप लगाए।
उनले कोरोना संक्रमणको जोखिम दिनप्रतिदिन बढ्दै गएकोले आम नागरिकले आफैँ सावधानी अपनाउनुपर्नेमा जोड दिए। नियमित मास्क लगाउने, हात धुने अथवा स्यानिटाईजेसन गर्ने, भौतिक दूरी कायम गर्ने (कम्तिमा साढे चार फुट), ज्वरो अथवा रुघाखोकी लागेमा तुरुन्त चिकित्सकको सम्पर्कमा जानुपर्ने पनि उनले सुझाव दिए।
स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वमहानिर्देशक डा. बाबुराम मरासिनीले पछिल्लो समय नेपालमा कोरोना संक्रमणको जोखिम बढेको र अवस्था अत्यन्तै चिन्ताजनक रहेको बताए।
प्रदेश नम्बर २ मा संक्रमण ‘मेगा आउटब्रेक’ अर्थात् लेभल चारमा पुगेको पनि उनले टिप्पणी गरे।
सरकारले कोरोना समुदायमा फैलिएको छैन भनेर आम जनसमूदायमा ‘रिस्क’ महसुस गराउन नसकेको पनि उनले आरोप लगाए। ‘सरकारले कोरोना संक्रमणको खतरा छ है, सचेत हुनुहोस् भनेर भनिदिएको भए आज सबैले मानवीय व्यवहारमा परिवर्तन गर्ने थिए’ उनले भने।
कोरोनाबाट बच्ने पहिलो उपाय नै मानवीय व्यवहार भएको औँल्याउदै मरासिनीले सरकारले लकडाउन खुकुलो बनाएपछि परीक्षणको दायरा बढाउनुपर्ने बताए।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका प्रवक्ता डा. अनुप बास्तोलाले कोरोना संक्रमणको जोखिमबाट बच्न आम नागरिक व्यवस्थित हुनुको विकल्प नभएको बताए।
उनले अहिले लकडाउन खुलेपछि बाहिर निस्किएकाहरुले सावधानी अपनाउनुपर्ने बताए। उनले भने, ‘बाहिर निस्किएकाहरुले मास्क लगाउनुपर्छ। नियमित हात धुनुपर्छ र सामाजिक दूरी कायम राख्नुपर्छ।’
सरुवा रोग विशेषज्ञसमेत रहेका प्रवक्ता डा. बास्तोलाले काठमाडौं उपत्यकामा संक्रिमतहरुको संख्या बढ्न थालेपछि आम मानिस त्रसित बनेको उल्लेख गर्दै सबैले सावधानी अपनाउनुपर्नेमा जोड दिए।