कैलाली– बाढीका कारण कैलालीको पूर्व तथा दक्षिण क्षेत्रका हजारांै घर डुबानमा परेका छन्। बाढीले बगाएर दुईको मृत्यु भएको छ भने एकजना बेपत्ता छन्।
कैलालीका पूर्वी तथा दक्षिण क्षेत्रमा हरेक वर्ष वर्षायाममा बाढीले ठूलो क्षति पुर्याउँदै आएको छ।
अविरल वर्षासँगै आएको बाढीमा बगेर बेपत्ता भएका भजनी नगरपालिका–८ का ४० वर्षीय ईश्वर शाहको शुक्रबार शव भेटिएको छ। उनको शव पथरैया र गौराखोलाको दोभानमा फेला परेको प्रहरीले जनाएको छ। बाढीमा परेकाको उद्धार गर्ने क्रममा शाह आफैं बगेका थिए।
बेपत्ता भएका भजनी नगरपालिकाका ११ वर्षीय स्केल चौधरीको शव बिहीबार भेटिएको थियो। भजनी नगरपालिका– ८ का चक्र विक अझै बेपत्ता छन्। अविरल वर्षा भइरहेका कारण पथरैया र कान्द्रा नदी पानीको सतह घटेको छैन।
कैलालीको भजनी त्रिशक्ति नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरी ६ हजारभन्दा बढी घरधुरी प्रभावित भएका छन्। दुई हजार बढी घरधुरी विस्थापित भएका छन्। उनीहरू विद्यालय र हुलाकी सडकमा आश्रय लिइरहेका छन्।
वर्षायाममा कर्णाली, मोहना, कान्द्रा, काँडा, पथरैया कर्णालीलगायत नदीमा आउने बाढीका कारण टीकापुर, लम्कीचुहा र भजनी नगरपालिका, जोशीपुर, जानकी र बर्दगोरिया गाउँपालिकाका बस्ती डुबानमा पर्ने गरेका छन्।
डुबानको कारण हुलाकी सडक र भारतको एकलौटी बाँध निर्माण
भारतले नेपालको सिमाना नजिक एकलौटी ढंगले निर्माण गरेको बाँधका कारण हरेक वर्ष डुबानको समस्या बढिरहेकोे छ। कैलालीमा निर्माणाधीन हुलाकी सडक पनि डुबानको अर्को कारक हो।
भजनी नगरपालिका नगर प्रमुख शेरबहादुर चौधरीका अनुसार नगरका वडा नम्बर १, २, ३, ५, ६, ७ र ८ वडामा बर्सेनि डुबानमा पर्छन्। भारतले सीमानजिक बनाएका बाँधले कैलालीको पूर्वी क्षेत्र बढी डुबानमा पर्ने गरेको नगर प्रमुख चौधरीले बताए।
भारतीय बाँधका कारण नदीको बहाव थुनिएर डुबान हुने गरेको उनको भनाइ छ।
कैलालीमा निर्माणाधीन ६२ किलोमिटर लामो हुलाकी सडकका कारण नगरपालिकाका वडा नम्बर ३, ५ र ८ बढी प्रभावित हुने गरेको चौधरीले बताए। ‘हुलाकी सडकले ड्यामको काम गरेको छ’, नगर प्रमुख चौधरीले भने, ‘यसले गर्दा नगरपलिकाका तीन वडा डुबानमा पर्ने गरेका छन्।’
सरकारको राष्ट्रिय आपतकालीन कार्य सञ्चालन केन्द्रको मनसुन पूर्वतयारी तथा कार्ययोजनामा कैलालीका धनगढी, कैलारी, भजनी, टीकापुरका केही वडा र कञ्चनपुरका बेल्डाँडी, महाकाली, पुनर्वास, शुक्लाफाँटामा हुलाकी सडकका कारण डुबान हुने गरेको उल्लेख छ।
केन्द्रको प्रतिवेदनमा भनिएको छ, ‘कैलाली र कञ्चनपुरका दक्षिण क्षेत्रमा भारतीय सीमा क्षेत्रका पानी भरिएर उर्लने र अन्य नदीको बहाव अवरुद्ध भई डुबान हुने गरेको छ।’
टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले हुलाकी सडक र भारतीय बाँधका कारण कैलालीका पूर्वी क्षेत्र डुबान पर्ने गरेको बताए। टीकापुर नगरपालिकामा कर्णाली, पथरैया र मोहना नदी पस्ने गरेको छ।
‘बढी वर्षा भएपछि भारतले बाँधका ढोका बन्द गरिदिन्छ’, रावलले भने, ‘मोहना, पथरैया र कान्द्रामा नदीको सतह बढ्छ।’ हुलाकी सडकका कारण टीकापुर नगरपालिकाको वडा नम्बर ७ बढी प्रभावित हुन्छ।
रानी–जमरा–कुलरिया सिँचाइ आयोजनाले पनि टीकापुर डुबानमा पार्ने गरेको रावलले बताए।
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले चुरेबाट आउने खोलाका कारण गाउँपालिकाको वडा नम्बर १, २, ४, ५, ७ र ८ नम्बर वडा बर्सेनि डुबानमा पर्ने गरेको बताए।
जनप्रतिनिधि भन्छन्– नियन्त्रणका लागि संरचना बनाउन बजेट छैन
भजनी नगरपालिका प्रमुख शेरबहादुर चौधरीले डुबानको समस्या कम गर्न मोहना र कान्द्रामा ‘चेक ड्याम’ बनाउनुपर्ने बताए।
उनले भने, ‘नगरपालिकाको बजेटले तटबन्ध र चेक ड्याम बनाउन सक्ने अवस्था छैन। यसमा संघीय सरकारले लगानी गर्न आवश्यक छ।’
स्थानीय तहसँग बाढी तथा डुबान रोक्ने ठूलो संरचना बनाउन बजेट नभएको टीकापुर नगरपालिका प्रमुख तपेन्द्रबहादुर रावलले बताए। उनले भने, ‘हामीले पनि कतिपय भौतिक संरचना निर्माण गर्दा वातावरणीय पक्षलाई ध्यान दिएनौं। त्यसैले अहिले जोखिम बढेको छ।’
जानकी गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले खोलानाला व्यवस्थापन र सरसफाइमा ध्यान दिनसके डुबानबाट बच्न सकिने बताए।
धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वडले खोलानाला अतिक्रमण गरी भौतिक संरचना बनाउँदा धनगढी जलमग्न हुने गरेको बताए। उनले स्थानीयलाई खोलानाला अतिक्रमण हटाउन साथ दिन आग्रह गरे।
अविरल वर्षाका कारण धनगढीका मुख्य बजार, शिवनगर, उत्तरबेहडी, मिलनचोक, त्रिवेणीचोक लगायतका बस्ती जलमग्न छन्।
सुदूरपश्चिम सधैं जोखिममा
भारतले एकलौटी बनाएको बाँधका कारण सुदूरपश्चिम प्रदेश बाढीपहिरो र डुबानको जोखिम छ।
२०४० सालमा नेपाल–भारत सीमाबाट १० किलोमिटर दक्षिण घाघरा नदीमा भारतले गिरिजापुरी बाँध एकतर्फी रूपमा बनाएको थियो।
भारतले वर्षायाममा गिरिजापुरी बाँधका ढोका थुन्ने गरेका कारण कर्णाली, गेरुवा, मोहना, कनरी, कान्द्रा, खुटिया, पथरैया, काँडालगायत नदीको पानी बहावमा अवरोध हुन्छ।
गिरिजापुरी बाँधकै कारण धनगढी उपमहानगरपालिकाका वडा नम्बर १५, १८ र १९, कैलारी गाउँपालिका, भजनी नगरपालिका र टीकापुर नगरपालिका डुबानमा पर्दै आएका छन्।
२०६५ सालमा भारतले गिरिजापुरी बाँधको ढोका नखोल्दा कैलालीमा डुबानमा परी १२ जनाको मृत्यु भएको थियो। १२ हजार सात सय ७९ घर डुबानमा परेका थिए।
सन् १९२० मा तत्कालीन प्रधानमन्त्री चन्द्रशमशेरका पालामा नेपाल र ब्रिटिस इन्डियाबीच सम्झौता भई महाकाली नदीमा शारदा बाँध निर्माण सुरु गरिएको थियो।
शारदा बाँधको तलतिर भारतीय सीमा सुरक्षा बल (एसएसबी) क्याम्पबाट आधा किलोमिटरमा भारतले आंशिक बाँध बनाई नेपालको भुजेला साइडमा छोड्दा नेपालतर्फ नदीको प्रवाह फर्केर २०७० मा कञ्चनपुरको भीमदत्त नगरपालिकामा ठूलो जनधनको क्षति भएको थियो।
शारदा ब्यारेजका कारण बर्सेनि महाकाली पारिका चाँदनी दोधारा, हलिजा र भीमदत्त नगरपालिकाका केही वडा डुबानमा पर्ने गरेका छन्।
टनकपुर बाँध बनाउने बेला अस्थायी तटबन्ध बनाई महाकालीको पानी नेपालतिर छोड्दा कञ्चनपुरका एक सय परिवार अझै विस्थापित छन्।
भारतले धौलीगंगा बाँधको ढोका खोलेका कारण २०७० साल असार १ गते दार्चुला जिल्लाको सदरमुकाम खलंगामा भीषण बाढी आएको थियो। बाढीका कारण खलंगामा दर्जनौं घर बगेका थिए।