काठमाडौं- बारामा आइतबारदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी गरिएको छ। जिल्ला प्रशासन कार्यालय, बाराले आइतबारदेखि बढी भिडभाड हुने स्थानमा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको हो।
बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले शुक्रबार सूचना जारी गर्दै छिमेकी जिल्ला पर्सामा समुदायस्तरमा कोरोना भाइरसको संक्रमण देखिएको र बारामा समेत दैनिक संक्रमितको संख्या बढ्दै गएकाले जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकको निर्णयानुसार निषेधाज्ञा जारी गरेको जनाएका छन्।
प्रशासन कार्यालयले जारी गरेको सूचनामा पर्सा तथा बारा जिल्ला जोड्ने हुलाकी लोकमार्ग पर्ने सबै स्थानीय तहहरु, कलैया बजार क्षेत्र, पथलैया–वीरगज औद्योगिक करिडोर पर्ने जीतपुर, सिमरा, पथलैया, परवानीपुर, नितनपुर, निजगढ, कोल्हवी, सिम्रौनगढ, बरियापुरलगायत अत्याधिक भिडभाड हुने तथा हाटबजार लाग्ने ग्रामीण क्षेत्रहरुमा निषेधाज्ञा लागू गरिएको उल्लेख छ।
निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक भेला हुन तथा घरबाहिर निस्कन प्रतिबन्ध लगाएको छ। यस्तै, अत्यावश्यक सेवामा संलग्न रहेका सरकारी तथा सार्वजनिक संस्थान बाहेकका अन्य सेवा प्रवाह गर्ने कार्यालय बन्द गर्ने निर्णय भएको प्रशासन कार्यालयले जनाएको छ।
निषेधित क्षेत्रभित्र कुनै पनि धार्मिक, सांस्कृतिक, सामाजिक कार्यहरु (विवाह, व्रतवन्ध, भोजभतेर) गर्न प्रतिवन्ध लगाइएको छ। यस्तै, छिमेकी मुलुक भारतसँग जोडिएका सीमा नाकाहरुमा आवतजावत पूर्णरुपमा बन्द गर्ने निर्णय गरिएको छ।
औषधि पसल २४ सै घण्टा खुला रहने र खाद्यान्न, ग्यास, इन्धन, दूध, डेरी तथा तरकारी मुख्य बजार क्षेत्रमा बिक्री वितरण नगरी साइकल तथा ठेलागाडामा राखेर मात्र अन्य क्षेत्रमा बिहान १० बजेदेखि मात्र बिक्री गर्न पाइने सूचनामा उल्लेख छ।