काठमाडौं– नेपाली सेनाको सैनिक कल्याणकारी कोषमा एक वर्षको अवधिमा ७ अर्ब भन्दा बढी रकम वृद्धि भएको छ। सेनाले आज पत्रकार सम्मेलन आयोजना गरेर आर्थिक वर्ष २०७६–७७ मा ७ अर्ब २९ करोड १९ लाख रुपैयाँ वृद्धि भएको जनाएको छ।
२०७६ असार मसान्तसम्म ३८ अर्ब ५७ करोड ६१ लाख रुपैयाँ मात्रै रहेकोमा १८ दशमलव ९० प्रतिशत वृद्धि भएर ४५ अर्ब ८६ करोड ८० लाख पुगेको कल्याणकारी योजना निर्देशनालयका निर्देशक सहायक रथी सागरबहादुर केसीले जानकारी दिए।
‘विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड–१९ को कारणले नकारात्मक असर परे पनि कोषको आर्थिक गतिविधिमा सन्तोषजनक रहेको छ,’ उनले भने, ‘कोषको अहिलेसम्मको सम्पत्ति ५१ अर्ब ६१ करोड ४ लाख पुगेको छ।’
८५ करोडको हाराहारीमा निक्षेप जोखिम रहेकोमा प्रभावकारी व्यवस्थापन एवम् निक्षेप नीति अवलम्बन गरिएकाले घटेर ५ करोड २ लाख ६६ हजार मात्रै रहेको कल्याणकारी कोषले जनाएको छ।
सेनाले बेरुजु फर्छ्योट गर्न ७ करोड ४३ लाख ९४ हजार बाँकी रहेको प्रष्ट पारेको छ। २० करोड १४ लाख १७ हजार रहेकोमा २०७७ असारसम्म १२ करोड ७० लाख २३ हजार फर्छ्योट भएको जनाइएको छ।
नेपाली सेना शान्ति स्थापना कार्यको लागि संयुक्त राष्ट्रसंघको आव्हानमा शान्ति सेनामा सहभागी भए वापत प्राप्त १ करोड २४ लाख १ हजारबाट २०३२ सालमा ‘सैनिक कल्याणकारी कोष’ को स्थापना भएको थियो।
नेपाली सेनाका बहालवाला, अवकाश प्राप्त सैनिक तथा तिनका आश्रित परिवारहरुलाई स्वास्थ्य, शिक्षा, सहुलियत ऋण, आर्थिक राहत र आवास तथा विमा जस्ता कल्याणकारी कार्यहरुमा कोषले काम गर्दै आएको छ।
नेपाली सेनाले सुनाचुरी प्लान्ट, सैनिक आवास निमार्णका लागि चितवनको घर जग्गा, अक्सिजन प्लान्ट, नेपाली सेना स्वास्थ्य विज्ञान संस्थान, इचंगुनारायणमा जग्गा खरिद र भवन निर्माण, शुद्ध पिउने पानी प्लान्ट, रिपुमर्दिनी फ्यूल स्टेशन, सिभिल एक्सप्लोसिभ प्लान्ट लगायतमा लगानी गरेको छ।
कल्याणकारी कोषले आर्थिक वर्ष ०७७–७८ मा अस्पतालको सेवा सुविधा विस्तार गर्ने लक्ष्य राखेको छ। विरेन्द्र अस्पतालको क्षमता अभिवृद्धि गर्दै मुटुरोग निदान र उपचारका लागि अत्याधुनिक ल्याबको स्थापना गर्ने योजना नेपाली सेनाको रहेको जानकारी दिइएको छ।
त्यस्तै चालु आर्थिक वर्षको कार्यक्रममा स्वास्थ्य उपचार सेवालाई विकेन्द्रित गर्दै लैजाने उद्देश्य अनुरुप नेपालगञ्ज, इटहरी र पोखरामा समेत सैनिक अस्पतालहरु निर्माण गरी औषधी उपचार सुविधा प्रदान गरिएकोमा बर्दिवासमा अस्पताल निर्माण गरेर चालु आर्थिक वर्षबाट नै सेवा सुचारु गर्नुका अतिरिक्त इटहरी र पोखरा अस्पतालको लागि आवश्यक अस्पताल उपकरण खरिद सम्पन्न गरी अस्पताल सुविधालाई पूर्णता दिइने छ।
कोषद्वारा सञ्चालित विद्यालय र महाविद्यालयहरुलाई सबै प्रदेशसम्म पुर्याउने नीति अनुरुप यस वर्ष प्रदेश नम्बर २ को बर्दिवासमा र प्रदेश नम्बर ५ को बुटवल वा दाङ्गमा सैनिक विद्यालय स्थापना गर्ने तयारी गरिएको छ।
कोरोना महामारीको कारणले गर्दा वैदेशिक रोजगारी गुमाई स्वदेश फिर्ता भएका अवकाश प्राप्त एवम् स्वदेशमै रोजगारी गुमाउन पुगेकाहरुको पुनः रोजगार अवसरलाई ध्यानमा राखि विशेष रोजगार कार्यक्रम सञ्चालन गर्ने, लमजुङ, जिरी, मोरङ र धनगढी लगायतका क्षेत्रमा नमूना कृषि फार्म स्थापना गर्ने पनि कल्याणकारी कोषको कार्यक्रम छ।
पेट्रोलियम पदार्थको आपूर्तिमा समय समयमा हुने कठिनाईलाई सम्बोधन गर्ने उद्देश्यले सुरक्षा निकायहरुले फ्यूल स्टेशन र एलपिजि ग्यास फिलिङ्ग स्टेशन स्थापना गर्न थप २ स्थानमा फ्यूल स्टेशन स्थापना गर्ने, रिपूमर्दिनी पेट्रोल स्टेशन भद्रकाली र शक्तिदेवी पेट्रोल स्टेशन लगनखेलको कल्याणकारी योजना निर्देशनालयको व्यवस्थापनमा सञ्चालनमा ल्याउने जनाइएको छ।
त्यस्तै नेपाली सेनाको बन्दोबस्ती क्षमता अभिवृद्धि गर्ने उद्येश्यले कोषको लगानीमा नेपाली सेना जुत्ता कारखाना परियोजना सञ्चालन गर्ने योजना पनि नेपाली सेनाको छ।