काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्याग्रहीसँग सरकारले गरेको सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
आज काठमाडौंको बसन्तपुर पुगेर थापाले ‘इनफ इज इनफ’ अभियानमा पार्टीको तर्फबाट ऐक्यबद्धता जनाउँदै सहमति कार्यान्वयनमा जोड दिएका हुन्।
उनले सत्याग्रहीसँग भएको सहमतिप्रति सरकार इमान्दार भएर तत्काल कार्यान्वयन गर्नुपर्ने जोड दिए।
‘इनफ इज इनफ’ अभियानले आज बालुवाटारमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दासमेत गरेका छन्।
पूर्वउपप्रधानमन्त्रीसमेत रहेका थापाले काठमाडौं उपत्यकासँगै ठूला शहरमा कोरोना संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको पनि बताए।
थापाले स्वास्थ्यसँग सम्बन्धित विभिन्न माग राखी सत्याग्रहमा रहेका ‘इनफ इज इनफ’ अभियानका अभियन्ता ईः को स्वास्थ्य अवस्थाबारे जानकारी पनि लिएका छन्।
थापासँग पार्टीका नेताहरू पूर्वमन्त्री विक्रमबहादुर थापा, चन्द्रबहादुर गुरुङ, राजाराम बर्तौलालगायत बसन्तपुर पुगेका थिए।