सुर्खेत– पहिरोमा परी कालिकोटमा थप दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार र पलाँता गाउँपालिका–८ दाम्रीमा २४ वर्षिया कमल रोकाय र रास्कोट नगरपालिका–१ चडिपानीकी ६० वर्षिया घण्टी भण्डारीको पहिरोमा परी मृत्यु भएको हो ।
रोकाय कुलो मर्मत गर्ने क्रममा र भण्डारी घाँस काट्न जंगल गएको बेला पहिरोमा परी मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रमुख श्यामबाबु ओलियाले जानकारी दिए ।
यस्तै पलाँताको पहिरोमा परी –८ कै ६० वर्षिया पुन्न रोकाय र २६ वर्षिया नैन रोकाय घाइते भएका छन् । उनीहरुको स्वास्थ्य इकाई कार्यालय वेसनकोटमा उपचार भइरहेको छ । कालिकोटमा पहिरोकै कारण हालसम्म १६ जनाको मृत्यु भइसकेको छ ।
त्यस्तै सात जना बेपत्ता भएका छन् । बेपत्ताहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ । जिल्लाभर झण्डै तीन सय ५० भन्दा बढी विस्थापित भएको प्रहरीको भनाइ छ ।