धनगढी अविरल वर्षासँगै आएको बाढीमा बगेर बेपत्ता भएका एक जनाको शव फेला परेको छ । बाढीमा बगेर बेपत्ता भएका कैलालीको भजनी नगरपालिका वडा नम्बर ८ का ४० वर्षिय ईश्वर शाहको शव आज फेला परेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रतिक बिष्टका अनुसार शाहको शव बेपत्ता भएको ठाउँबाट एक किलोमिटर तल पथरैया र गौराखोलाको दोभान नजिक झाडीमा फेला परेको हो। बाढीका कारण समस्यामा परेका स्थानीयको उद्धार गर्ने क्रममा शाह बगेर बेपत्ता भएका थिए।
बुधबारको बाढीमा बेपत्ता भएका तीन जनामध्ये बिहिवार भजनी त्रिशत्ति नगरपालिकाको जनकपुरका ११ वर्षीय स्केल चौधरीको शव भेटिएको थियो। भजनी नगरपालिका ८ का चक्र बिक भने अझै बेपत्ता छन्। निरन्तरको वर्षा र पानीको बहाव पनि नघटेकाले बेपत्ताको खोजिमा समस्या भैरहेको प्रहरी नायव उपरीक्षक बिष्टले बताए।
बुधबार सोही ठाउँमा बाढीमा बगेका तीन जनाको भने सकुशल उद्धार गरिएको थियो। पथरैया र कान्द्रा नदीको बाढी गाउँमा पसेपछि उनीहरू बगेका थिए ।
बुधबारको बाढीका कारण कैलालीको भजनी त्रिशत्ति नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिका र टीकापुर नगरपालिकामा गरी ६ हजार भन्दा बढी घरधुरी प्रभावित भएका छन् भने दुई हजार बढी घरधुरी परिवार बिस्थापित भएका छन् । उनीहरु अहिले बिद्यालय, हुलाकी सडक लगायतका ठाउँमा बसिरहेका छन्।