काठमाडौं- 'इनफ इज इनफ' आन्दोलनमा सहभागी हुन बालुवाटारतर्फ जाँदै गरेका विवेकशील नेपाली दलकी नेतृ रञ्जु दर्शना लगायतका प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
पक्राउ परेका वृतान्त खनालका अनुसार प्रहरीले दर्शनासँगै आलोक सुवेदी, सौरभ, शशीबिक्रम कार्की, सुदन गुरुङ लगायतका करिब ५० जना प्रदर्शनकारीलाई बालुवाटार नपुग्दै पक्राउ गरेको हो।
उनीहरुलाई प्रहरी तालिम केन्द्र महाराजगञ्जमा राखिएको छ। पक्राउ परेका आलोक सुवेदीका अनुसार ठूलो संख्याका प्रदर्शनकारीलाई प्रहरीले मालिगाउँबाट पनि पक्राउ गरेको छ।
'इनफ इज इनफ' आन्दोलनले सरकारले गरेको सहमति कार्यान्वयन नगरेको भन्दै आन्दोलनलाई आजबाट बालुवाटार केन्द्रित गर्ने जनाएको थियो।
शान्तिपूर्ण र सिर्जनात्मक आन्दोलनमात्र होइन लगातार १३ दिनदेखिको अनसनलाई समेत सरकारले पूरै बेवास्ता गरेपछि इनफ इज इनफले बालुवाटार प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गर्ने निर्णय गरेको हो।
यसबीच १३ दिनदेखि अनसन रहेका ईः को स्वास्थ्य अवस्था नाजुक अवस्थामा पुगेको छ।
कोरोना संक्रमणको रोकथाप र उपचारमा सरकारको काम प्रभावकारी नभएको भन्दै स्वतन्त्र युवाहरुले ‘इनफ इज इनफ’ समूह बनाई पहिलो पटक २७ जेठमा बालुवाटारमा प्रदर्शन गरेका थिए।
आन्दोलनबाट मागको सुनुवाई नभएपछि अभियन्ता ईः अनसन बसेका थिए भने अनसनकारी युवालाई अस्पतालमा भेट्न पुगेका प्रधानमन्त्री केपी ओलीले उनीहरुका माग पूरा गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए। त्यसलगत्तै सरकारले आन्दोलनकारी युवासँग सहमति गरेर अनसन तोडाएको थियो।
तर, सरकार आफैंले गरेको सहमति पूरा नगरेपछि ईः दोस्रो चरणको अनसनमा छन्।
महामारी व्यवस्थापनका लागि सर्वोच्च अदालतले दिएका आदेश समेत सरकारले पालना नगरेको युवाहरु बताउँछन्।