बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेकपा स्थायी कमिटी बैठक अन्योलमा, दुई अध्यक्षबीच संवाद रोकियो

नेकपा स्थायी कमिटी बैठक अन्योलमा, दुई अध्यक्षबीच संवाद रोकियो

दुई अध्यक्षबीच छलफलका लागि भन्दै बैठक सार्दै आइए पनि निकास निस्कन सकेको छैन। पार्टीको स्थायी कमिटी बैठक अवरुद्ध भइरहेकै बेला नेकपाका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक राख्नुपर्ने माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाएका छन्।
 |  शुक्रबार, साउन १६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, साउन १६, २०७७

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र देखिएको विवादका कारण गएको असार १० गतेदेखि सुरु भएको स्थायी कमिटी बैठक बस्ने–नबस्ने अन्योल भएको छ।

साउन १३ गते पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले एकलौटी रुपमा स्थायी कमिटीको बैठक स्थगित गरेपछि पार्टीमा विवाद झन् देखिएको छ।

अध्यक्ष ओलीले एकलौटी बैठक स्थगित गरेपछि अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल समूह रुष्ट बनेको छ। १३ साउनमा बोलाइएको बैठक ओलीले स्थगित गरेका थिए। तर, दाहाल–नेपाल समूहका सदस्यहरु बैठक बसे। ओली समूह भने त्यसलाई बैठक मान्न तयार छैन।

दाहाल–नेपाल समूहको उक्त बैठकले स्थायी कमिटी बैठक सुचारु गर्न र पार्टीभित्र देखिएको विवाद समाधानका लागि अध्यक्ष दाहाललाई अर्का अध्यक्षसँग छलफल गरेर टुंगो लगाउन जिम्मेवारी दिएको थियो। तर, साउन १३ गतेयता दुई अध्यक्षबीच संवाद हुन सकेको छैन।

अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटाले दुई अध्यक्षबीच पछिल्लो समय छलफल नभएको बताए। नेकपाका दोस्रो तहका नेताहरुले दुई अध्यक्षबीच सहमतिको वातावरण निर्माण गर्न सक्रियता देखाए पनि निष्कर्षमा पुग्न सकेका छैनन्।

दाहाल–नेपाल समूह ओलीले कुनै एक पद छाड्नुपर्ने अडानबाट पछि नहट्नु र ओली त्यसका तयार नहुनुले विवाद समाधान हुन नसकेको हो। साउन १३ गतेको बैठकमै नेकपाका उपाध्यक्ष वामदेव गौतमले एकता महाधिवेशनसम्म ओली अध्यक्ष र प्रतिनिधिसभाको बाँकी कार्यकालसम्म प्रधानमन्त्री नै रहने प्रस्ताव अघि सारेपछि नेकपाभित्र देखिएको विवादले नयाँ मोड लिएको छ।

सोही दिन अध्यक्ष ओली नेता गौतमको निवासमा पुगेर २ घण्टा छलफल गरेका थिए। यता दाहालले पनि यो बीचमा पूर्वमाओवादी केन्द्रका नेताहरुसँग छलफल र संवाद गरेका छन्। बिहीबारमात्रै स्थायी कमिटी सदस्यहरु जनार्दन शर्मा, टोपबहादुर रायमाझी, देवेन्द्र पौडेल, हरिबोल गजुरेल, मणि थापा र चन्द्रप्रकाश खनालसँग छलफल गरेका थिए।

छलफलमा सहभागी नेताहरुले प्रधानमन्त्री एवम् अध्यक्ष केपी शर्मा ओलीसँग मिलेर जान प्रचण्डलाई सुझाव दिएको बताइएको छ।

‘सहमितका लागि दुई अध्यक्षबीच छलफलको वातावरण बनाउने काम भइरहेको छ,’ एक स्थायी कमिटी सदस्यले भने, ‘उहाँहरु बसेर सहमति नगरेर अहिले देखा परेको समस्या समाधान हुँदैन। त्यसैले पनि मिलेर अघि बढ्नुको विकल्प छैन।’

पूर्वमाओवादीकै नेताहरुले ओलीसँग सहकार्य गरेर नै प्रचण्ड अघि बढनु उपयुक्त हुने धारणा राख्दै आइरहेका छन्। दाहाल निकट भनिएका स्थायी कमिटी सदस्य एवम् उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले सार्वजनिक रुपमै अहिले ओलीले अध्यक्ष र प्रधानमन्त्री कुनै पदबाट राजीनामा दिनु नपर्ने बताउँदै आइरहेका छन्।

‘आफू निकटका नेताहरुले नै ओलीसँग सहकार्य गरेर जानुपर्ने सुझाव दिन थालेपछि अहिले अध्यक्ष दाहाल अन्योलमा हुनुहुन्छ,’ अर्का एक स्थायी कमिटी सदस्यले भने, ‘नेताहरुको सुझाव मानेर अघि बढ्ने कि माधवकुमार नेपालसँग सहकार्य गरेर जाने भन्ने निर्णय गर्न सक्नुभएको छैन।’

नेकपा स्थायी कमिटी बैठक असार १६ गतेदेखि अवरुद्व हुँदै आएको छ। स्थायी कमिटी बैठकका लागि सचिवालयले ७ वटा एजेन्डा तय गरेको थियो। तर, बैठक भने ओलीको राजीनामामै अल्झिएको छ।

बालुवाटरमा असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष ओलीले नक्सा जारी गर्दा भारतले सरकार ढाल्न खोजेको र त्यसमा पार्टीका नेताहरुको पनि हात रहेको भन्ने अभिव्यक्ति दिएपछि नेकपाको स्थायी कमिटी बैठक एजेन्डा भन्दा बाहिर प्र्रवेश गरेको थियो।

असार १६ मा बसेको बैठकमा अर्का अध्यक्ष दाहालले भारतले नभई आफूले राजीनामा मागेको बताएपछि नेकपाभित्रको विवाद चुलिएको हो। त्यसयता नेकपा स्थायी कमिटी बैठक सहज रुपमा अघि बढ्न सकेको छैन।

दुई अध्यक्षबीच छलफलका लागि भन्दै बैठक सार्दै आइए पनि निकास निस्कन सकेको छैन। पार्टीको स्थायी कमिटी बैठक अवरुद्ध भइरहेकै बेला नेकपाका १५२ जना केन्द्रीय सदस्यहरुले केन्द्रीय कमिटी बैठक राख्नुपर्ने माग गर्दै पार्टीलाई हस्ताक्षर बुझाएका छन्।

‘पार्टी एकता कायम राख्नका लागि केन्द्रीय कमिटी बैठक बोलाएर समाधान गर्नुपर्छ भन्ने हाम्रो माग हो,’ केही दिनअघि केन्द्रीय सदस्य ठाकुर गैरेले भनेका थिए।

प्रकाशित: Jul 31, 2020| 11:07 शुक्रबार, साउन १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।