काठमाडौं– बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तले आफूलाई छोरीका हत्यारा चाहिएको बताएकी छिन्।
निर्मला हत्याको छानबिनमा संलग्न प्रहरी अधिकारीहरुले सफाइ पाएको सन्दर्भमा प्रतिक्रिया दिँदै उनले कसैले सफाइ पाएकोमा आफ्नो कुनै आपत्ति नरहेको बताएकी हुन्।
‘पहिलेदेखि नै छोरीका हत्यारा पत्ता लगाइदिन माग गर्दै आइरहेकी छु,’ नेपाल समयसँग उनले टेलिफोनमा भनिन्, ‘अहिले पनि मेरो माग त्यही हो।’ उनले सरकारले हत्यारा पत्ता लगाएर छोरी र आफूलाई न्याय दिनुपर्ने माग गरेकी छन्।
‘मलाई अपराधी चाहिएको हो। कसैले सफाइ पाएर खुसी हुने वा दुःखी हुने होइन म त्यसमा केही टिप्पणी गर्दिन,’ उनले भनिन्।
निर्मलाकी आमा दुर्गादेवीले प्रमाण नष्ट गरेको भनेर प्रहरीमा उजुरी दिएकी थिइन्। त्यसैगरी अभियुक्त भनेर सार्वजनिक गरिएका दिलिपसिंह विष्टका दाजु खड्कसिंह विष्टले यातना दिएको भन्दै प्रहरीमा उजुरी दिएका थिए।
बिहीबार कञ्चनपुर जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद वास्तोलाको इजलासले तत्कालीन एसपी विष्टसहितका आठ जनालाई सफाइ दिएको छ।
अदालतका श्रेस्तेदार यदुराज शर्माका अनुसार फैसलामा प्रहरीहरूले आरोपी व्यक्तिलाई यातना दिएको नदेखिएको, उनीहरूको शरीरमा घाउचोट नदेखिएको र स्वास्थ्य परीक्षण प्रतिवेदनमा पनि उनीहरूमाथि घाउ–चोट लागेको नदेखिएको उल्लेख गरिएको छ। त्यस्तै प्रमाण नष्ट गरेको भन्दै लगाइएको मुद्दामा पनि कसुर पुष्टि भएको नदेखिएको फैसलामा भनिएको छ। फैसलाको पूर्णपाठ भने आउन बाँकी नै छ।
तत्कालीन कञ्चनपुरका एसपी डिल्लीराज विष्ट, केन्द्रीय अनुसन्धान व्यूरोका डीएसपी अंगुर जिसी, डीएसपी ज्ञानबहादुर सेठी, इन्स्पेक्टर एकीन्द्रबहादुर खड्का, इन्स्पेक्टर जगदीशप्रसाद भट्ट, सई हरसिंह धामी, सई रामसिंह धामी र जवान चाँदनी साउदमाथि पक्राउ परेकालाई यातना दिएको र प्रमाण नष्ट गरेको मुद्दा लागेको थियो।
तत्कालीन जिल्ला न्यायाधीश डा. राजेन्द्र आचार्यको इजलासले मुद्दा लागेका आठैजनालाई धरौटीमा छाड्ने आदेश गरेका थिए।