काठमाडौं– सरकारले एसियाली विकास बैंक (एडीबी) सँग सहयोग माग्ने भएको छ । सरकारले एडीबीसँग पाँच अर्ब ९६ करोड अर्थात् पाँच करोड अमेरिकी डलर बराबरको ऋण तथा अनुदान सहायता माग्ने निर्णय गरेको हो ।
वर्षायाममा बाढी–पहिरोजस्ता प्राकृतिक जोखिम बढेको र जोखिम व्यवस्थापनका लागि थप रकम आवश्यकता पर्ने भएकोले स्रोत जुटाउनका लागि अर्थ मन्त्रालयले एसियाली विकास बैंकसँग सहयोग माग्ने निर्णय गरेको हो ।
बाढी जोखिम व्यवस्थापन गर्न ७ अर्ब ५१ करोड चाहिने सरकारले अनुमान गरेको छ । एडीबीसँग ४ करोड डलर बराबरको सहुलियपूर्ण ऋण र १ करोड डलर अनुदान सहयोग माग्न लागिएको सरकारका प्रबक्ता डा. युवराज खतिवडाले जानकारी दिए ।
सो रकम बराबरको ऋण तथा अनुदान माग्नका लागि गत शुक्रबार अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपालको संयोजकत्वमा वार्ता टोली समेत गठन गरिएको थियो ।