बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • राष्ट्र बैंकको निर्देशिकापछि घट्यो लघुवित्तको सेयर मूल्य

राष्ट्र बैंकको निर्देशिकापछि घट्यो लघुवित्तको सेयर मूल्य

लगानीकर्ताले धमाधम लघुवित्तको सेयर बिक्री गर्न थालेका छन्।
 |  बुधबार, साउन १४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, साउन १४, २०७७

काठमाडौं– लघुवित्त कम्पनीको नाफा घट्ने र २० प्रतिशतभन्दा बढी नगद लाभांश लिन नपाइने भएपछि लगानीकर्ताले धमाधम लघुवित्तको सेयर बिक्री गर्न थालेका छन्।

स्टक मार्केटमा बुधबार सबैभन्दा बढी गुमाउने कम्पनीमा लघुवित्त नै छन्।

नेपाल राष्ट्र बैंकले मंगलबार एकीकृत निर्देशिका जारी गरी लघुवित्त संस्थाले १५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने र सेवा शुल्क बढीमा १.५ मात्र लिन पाउने व्यवस्था गरेको थियो।

यस्तो प्रावधानले लघुवित्तको नाफामा घटी लाभांश पनि पर्याप्त नपाइने भएपछि लगानीकर्ता हाइड्रोपावरतर्फ आकर्षित भएका छन्।

राष्ट्र बैंकले लघुवित्त संस्थामाथि २० प्रतिशतभन्दा बढी नगद लाभांश दिन रोक लगाएको छ। पहिले लघुवित्त संस्थाबाट ६० प्रतिशतसम्म लाभांश लिएका लघुवित्त संस्थाका लगानीकर्ताले आफूसँग भएको सेयर धमाधम बिक्री गरेका छन्।

राष्ट्र बैंकले हाइड्रोपावर कम्पनीलाई मध्यम प्रभावित र न्यून प्रभावितको सूचीमा राख्दै सहुलियत दिएपछि बुधबार हाइड्रोपावर कम्पनीको मूल्यवृद्धि भएको हो।

बुधबार गुमाउनेमा जनउत्थान लघुवित्त, ग्लोबल आईएमई लघुवित्त, मिथिला लघुवित्त, स्पर्श लघुवित्त, नेपाल सेवा लघुवित्त र स्वरोजगार लघुवित्त छन् भने सबैभन्दा बढी कमाउनेमा युनियन हाइड्रोपावर, जोशी हाइड्रोपावर, मिर्मिरे माइक्रोफाइनान्स, आरम्भ चौतारी लघुवित्त, घलेम्दी हाइड्रोपावर, दिव्येश्वरी हाइड्रोपावर लगायतका कम्पनी छन्।

बुधबारको सेयर बजार परिसूचक (नेप्से) २३.३६ अंक ओरालो लागेर १४५१.५२ अंकमा अडिएको छ। १८७ कम्पनीको १ अर्ब ६८ करोड रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

सबैभन्दा बढी कारोबार गर्नेमा नेपाल पुनर्बिमा कम्पनी छ। कम्पनीको १५ करोड ७१ लाख कारोबार भएको छ। बुधबार २९ कम्पनीको मात्र सेयर मूल्य बढेको छ।

प्रकाशित: Jul 29, 2020| 17:33 बुधबार, साउन १४, २०७७
प्रतिक्रिया दिनुहोस्