पोखरा– स्याङ्जामा २० प्रहरीमा कोरोना भाइरस संक्रमण देखिएपछि जिल्ला प्रहरी कार्यालय सिल गरिएको छ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मंगलबार स्याङ्जाका २० प्रहरीसहित ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको जनाएको थियो।
जिल्ला प्रहरी कार्यालयमा कार्यरत ९८ जना प्रहरी कर्मचारीको स्वाब परीक्षण गर्न पठाइएको छ। केहीको परीक्षण रिपोर्ट आउन बाँकी रहेको प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले बताए।
संक्रमित प्रहरीमध्ये स्याङ्जाकै हेलुस्थित कालिका सामुदायिक अस्पतालको क्वारेन्टिनमा १६ जना र पुतलीबजार नगरपालिका ११ को करेन्डाडास्थित स्वास्थ्य चौकीको आइसोलेसनमा चारजना छन्।
कोरोना संक्रमितको संख्या बढेपछि जिल्ला प्रवेशमा कडाइ गरिएको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए। उनका अनुसार स्याङ्जा प्रवेश गर्ने मुख्य दुई नाका राम्दी र कुभिण्डेमा सवारी जाँचमा कडाइ गरिएको छ।
खाद्यान्नबाहेकका पसल खोल्न रोक लगाइएको छ। यस्तै खाद्यान्नका पसल बिहानबेलुकी मात्र खुल्न दिने निर्णय भएको क्षेत्रीले जानकारी दिए।
स्याङ्जामा कोरोना भाइरस संक्रमण रोकथामका लागि परीक्षणको दायरा बढाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी क्षेत्रीले बताए।
संक्रमण फैलिन नदिन स्याङ्जाका नागरिकलाई घरमै बस्न आग्रह गरिएको छ।
स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या दुई सय २३ पुगेको छ। सक्रिय संक्रमितको संख्या ५५ छ।
काठमाडौं- प्रहरी प्रधान कार्यालय नक्सालमा कार्यरत थप ४ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ।
योसँगै प्रधान कार्यालयमा मात्रै संक्रमितको संख्या ३५ पुगेको छ भने देशभर २ सय ६ प्रहरीमा संक्रमण पुष्टि भएको छ।
प्रहरी अस्पताल महाराजगन्जमा गरिएको परीक्षणमा थप ४ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता डीआईजी निरजबहादुर शाहीले जानकारी दिए। उनका अनुसार संक्रमितलाई बलम्बुस्थित एपीएफ अस्पताल पठाइएको छ।
संक्रमितहरु चालक र सञ्चारमा कार्यरतहरु रहेको डीआइजी शाहीले बताए। उनका अनुसारर आइतबार, सोमबार र मंगल ३१ जनामा संक्रमण देखिएको थियो।
संक्रमितको संख्या बढ्दै गएपछि प्रहरी प्रधान कार्यालयमा कार्यरत प्रहरी त्रसित बनेका छन् । बाहिरी मानिसको आउजाउमा कडा पारिएको छ भने अत्यावश्यक काममा आउनेलाई आवश्यक सुरक्षा मापदण्ड अपनाएर मात्रै प्रवेश गर्न दिइएको छ ।