काठमाडौं- दुई दशकको इतिहास बोकेको रौतहट जिल्लाको पहिलो सुगर मिल श्रीराम सुगर मिल्स प्रालि बन्द भएको छ।
कम्पनीको घाटा बढ्दै गएपछि चलाउन नसकेर बन्द गरेको जनाइएको छ। कम्पनीका अनुसार हालसम्म कुल २ अर्ब १७ करोड नोक्सान भएको छ।
नेपाल स्टक एक्सचेन्जमा सुचिकृत रहेको कम्पनीमा गोल्छा अर्गनाइजेशन र विशाल ग्रुपको लगानी रहेको थियो।
कम्पनीको सञ्चाल समितिले आइतबार सदाको लागि बन्द गर्ने निर्णय लिएको हो। गत चार महिनादेखि कर्मचारीको तलब भत्तासमेत कम्पनीले दिन सकेकाे छैन।
कम्पनीसँग रहेको चलअचल सम्पत्ति बिक्रि गरेर भए पनि सेयरधनी, कर्मचारी र किसानहरुको बक्यौता भुक्तानी गर्ने सञ्चालकले जानकारी दिएको नेप्सेले जनाएको छ।
कम्पनीले सूचना जारी गरी सरकारसँग कम्पनीको चलअचल सम्पत्ति बिक्रिका लागि अनुमति माग गरेको र सरकारले अनुमति दिने वित्तिकै सबै हिसाब फरफार गरिने जनाएको छ। कोभिड–१९ को महामारीका कारण चल्न नसकेको भन्दै कम्पनी बन्द हुने कम्पनीमा श्रीराम सुगर मिल पहिलो हो।
नेप्सेमा कम्पनीको ३० लाख ४५ हजार ९ सय ९० कित्ता सेयर सूचीकृत रहेको छ। कम्पनीको चुक्तापुँजी ३० करोड ४५ लाख ९९ हजार छ।