कैलाली– लकडाउनका कारण होम–स्टे बन्द भएपछि धनगढी उपमहानगरपालिका–९ बंगराका दिनेश चौधरीको कमाइ हुन छाड्यो।
उनी खान र सुत्नबाहेक सामाजिक सञ्जालमा सीमित भए। शरीर मोटाउन थाल्यो भने दिमागमा अनेक कुरा खेल्न थाले। घरमा काम छैन, बाहिर लकडाउन।
उनी एक दिन घुम्दै बारीतिर गए। बाँझै थियो। चौधरी भन्छन्, ‘छिमेकीहरु घरभित्रै थिए। म परिवार लिएर वैशाख १५ गते बारीमा निस्किएँ।’
उनले सुरुमा केरा लगाए। बीचको खाली ठाउँमा लौका, करेला, बोडी, भिन्डी, चिचिण्डा, काँक्रा। तरकारी उत्पादन सुरु भइसकेको छ। उनी भन्छन्, ‘तरकारीले केराखेतीको लगानी असुल भइसकेको छ, अब केराबाट फाइदा हुनेछ।’
२०६५ मा भेटेनरी जेटीए पढाइ सकेका उनले केही वर्ष त खेतीमै बिताए। उनले भने, ‘खेती त गरियो तर व्यावसायिक हुन सकिएन।’ गोलभेंडा दुई रुपैयाँमा पनि नबिकेपछि मोहनामा बगाएर निराश बनेका उनीसहित चार जना मिलेर फेरि तरकारीखेती गरे। त्यसमा पनि घाटा लागेपछि कृषि पेसा नै छोडेको उनी बताउँछन्।
उनले अहिले विषादीरहित तरकारी र फलफूल खेती गर्ने उद्देश्यले दुई बिघा जमिन लिजमा लिएका छन्। मासिक तलबमा दुई जना कामदार राखेका छन्। त्यहाँ परबल, बिन, सिमलामिर्च, मेवाखेती गर्ने तयारी छ। उनी फलफूल र तरकारीमा गोठेमल, निम, लसुन, खरानी प्रयोग गर्ने बताउँछन्।
आरके एग्रो फार्म दर्ता प्रक्रियामा रहेका चौधरीले भने, ‘गाईगोरुको पिसाब, गोबर, कुखुराको सुलीले तरकारी र फलफूल खेती फस्टाउँछ। त्यहाँ उम्रेका घाँस गाईगोरुको आहारा हुन्छ भने बारीमा आउने किराफट्यांग्रा कुखुराका आहार बन्छ।’ उनले पन्छीपालन र पशुपालनतर्फ पनि लाग्ने बताए।
तरकारी र फलफूलखेतीले एग्रो टुरिज्म विकासमा सहयोग पुग्ने उनको विश्वास छ। ग्राहकले स्वच्छ ताजा तथा विषादीरहित तरकारी र फलफूल प्रयोग गर्न पाउने उनी बताउँछन्।
पहिलोपटक रातो केराको व्यावसायिक खेती
चौधरीले उनले दुई कठ्ठामा रातो केराको व्यावसायिक खेती थालेका छन्। यस्तो केराखेती कैलालीमै पहिलोपटक सुरु गरिएको उनको भनाइ छ। यो केराको बोट र फल दुवै रातो हुन्छ।
‘पहिलोपटक परीक्षणका रुपमा लगाएको छु’, चौधरीले भने, ‘बाहिरबाट ल्याएर टिस्यु कल्चर प्रविधिबाट उत्पादन गरेको हुँ।’
बोट सामान्य केराको जस्तै भए पनि ‘जी नाइन’ र ‘विलियम हाइब्रेड’ को तुलनामा यसमा दुई महिना ढिलो फल लाग्छ।
कृषिविज्ञका अनुसार रातो केरामा भिटामिन र मिनरलको मात्रा बढी हुन्छ। चिनीको मात्रा अत्यन्त कम हुने हुनाले यो रातो केरा मधुमेहका बिरामीका लागि बढी उपयुक्त हुन्छ। रातो केरामा सोडियम तथा कोलेस्ट्रोल हुँदैन भने म्याग्नेसियम तथा प्रोटिन पर्याप्त मात्रामा पाइन्छ।
होम–स्टेबाट अर्गानिक उत्पादन बिक्रीको तयारी
धनगढी बजारबाट करिब ४ किलोमिटर दक्षिणमा थारू होम–स्टे एन्ड रिसोर्ट। यहाँ थारू परिकार र आवासीय सुविधा छ। २०७३ सालमा होम–स्टे सञ्चालन गर्दा सडक कालोपत्रे थिएन।
थारू परिकार खान धनगढी आसपासका व्यक्ति कच्ची सडक छिचोल्दै त्यहाँ पुग्थे। होम–स्टेमा अहिले वरिपरिका विभिन्न जिल्लाबाट ठूलो संख्यामा ग्राहक पुग्ने गरेको चौधरी बताउँछन्।
उनले भने, ‘अर्गानिक र विषादीरहित उत्पादन गरेको तरकारी तथा फलफूल होम–स्टे मा आउने ग्राहकमार्फत उहाँहरूको घरसम्म पुगोस् भन्ने चाहना छ।’