काठमाडौं– एक सातादेखि देशको सबैभन्दा ठूलो विश्वविद्यालय त्रिभुवन विश्वविद्यालयमा ताला लागेको छ।
विश्वविद्यालयका विभिन्न पदको नियुक्ति वरिष्ठताका आधारमा र पारदर्शी हुनुपर्नेलगायत माग राख्दै प्रजातन्त्रवादी प्राध्यापक संघ नेपालले ५ साउनमा तालाबन्दी गरेको हो।
१९ असारमा नियुक्ति पारदर्शी हुनुपर्नेलगायत ३३ बुँदे माग राखे पनि विश्वविद्यालय प्रशासनले अटेर गरी ९ साउनमा विभिन्न पदमा गरेको नियुक्तिमा आफ्नो संगठनको आपत्ति रहेको प्रजातन्त्रवादी प्राध्यापक संघका अध्यक्ष जगत तिमिल्सिनाले बताए।
नेपाल समयसँग करा गर्दै तिमिल्सिनाले भने, ‘मापदण्ड बनाएर वरिष्ठ, सक्षम, अनुभवी र योग्य प्राध्यापकले मात्रै विश्वविद्यालयको नेतृत्व गर्ने अवसर पाउनुपर्छ।’
पटक–पटक छलफलका लागि आग्रह गर्दा पनि विश्वविद्यालयले आनाकानी गरेपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको तिमिल्सिनाको भनाइ छ।
त्रिभुवन विश्वविद्यालयका रजिस्ट्रार प्रा. पेशल दाहाल प्राध्यापक संघसँग एक पटक भएको छलफल बिनानिष्कर्ष टुंगिएको र त्यसपछि छलफल हुन नसकेको बताउँछन्।
उनी भन्छन्, ‘हामीले पटक–पटक छलफलका लागि बोलाउँदा पनि उहाँहरू सहभागी हुनुभएको छैन।’
कतिपय माग विश्वविद्यालयले सामाधन गर्नै नसक्ने खालको भएकाले पनि दुवै पक्ष लचिलो भएर अगाडि बढ्नुपर्ने दाहालको भनाइ छ।
नेपाल राष्ट्रिय प्राध्यापक संगठनका सहसंयोजक प्रा. रमेश भट्टराई पनि वार्ताबाट समस्या समाधान गर्नुपर्ने बताउँछन्।
‘विश्वविद्यालयजस्तो प्राज्ञिक निकायमा तालाबन्दी गर्नु उचित होइन,’ उनी भन्छन्, ‘संवादबाटै असमझदारी हटाएर अगाडि बढ्नुपर्छ।’
पढ्नुस् :
प्राध्यापकले गरे त्रिविमा तालाबन्दी
त्रिविका समस्या वार्ताबाट समाधान गर्न आग्रह