फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्।
कुसुम श्रेष्ठले फेसन डिजाइन सिकेको धेरै वर्ष भएको छैन। १३ महिने डिप्लोमा र तीन महिने एड्भान्स कोर्ष सकेर डिल्लीबजारमा आफ्नै बुटिक खोलेको गएको फागुनमा एक वर्षमात्र पुगेको छ।
सीप सिकेको छोटो अवधिमै फेसन डिजाइनमा कुसुमले आफूलाई स्थापित गरिसकेकी छिन्।
व्यवसाय सुरु गरेको छोटो अवधिमै कुसुमको ‘कुसुम बुटिक’ चर्चा छ। यो बुटिक पछिल्लो समय सेलिब्रेटीको रोजाइ बन्न थालेको छ।
सञ्चालनको एक वर्षमै ग्राहकको सोचे भन्दा राम्रो माया पाएको कुसुमले सुनाइन्। ‘यति चाँडै सबैको रोजाइमा पर्छुजस्तो लागेको थिएन,’ उनले भनिन्, ‘लगनशिल भएर सिकेको सीपलाई कडा मिहिनेत गर्दै व्यवहारमा उतार्दा सफलता मिलेको हो।’
फेसन डिजाइन व्यवसायमा उनले भविष्य राम्रो देखेकी छिन्। भन्छिन्, ‘राम्रो सीप भएको मान्छे कहिलै बेरोजगार बस्न पर्दैन। पहिले–पहिले फेसन डिजाइन भनेको सेलिब्रेटीले मात्र बुझेका थिए । अहिले त सबै मानिसलाई फेसन डिजाइन चाहिएको छ।’
सानैदेखि व्यवसाय गर्ने सोच बनाएकी दिलमाया मगर डिल्लीबजारको एम के एम फेसन हाउसकी सञ्चालक हुन्। बुबा भारतीय सेनामा जागिरे भएकाले उतै जन्मिएकी दिलमाया फेसनमा धेरै सौखिन थिइन्।
पछि काठमाडौं आएर एमविएस अध्ययन गरेकी दिलमायाले अनलाइनबाट बनारसी साडीको व्यापार गर्न थालिन्। आफैँले डिजाइन गरेर कपडा बिक्री गर्ने सोच उनमा पलायो। त्यसका लागि उनलाई तालिमको खाँचो थियो।
तालिम दिने सेन्टर खोज्दै जाँदा बागबजारको इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीमा पुगिन्। कुसुमले सिकेको पनि सोही इन्स्टिच्यूटमा हो।
त्यही इन्स्टिच्यूटबाट डिप्लोमा कोर्ष गरेकी दिलमायाले गत मंसिरबाट आफ्नै फेसन हाउन खोलेकी हुन्।
फेसन डिजाइन गर्न उनलाई रमाइलो लाग्छ। ‘मान्छेलाई राम्रो देखाउने काम गर्न पाउँदा त्यसैमा रमाउँछु,’ उनले भनिन्, ‘रमाएसँगै मिहिनेत अनुसारको पैसा पनि राम्रै कमाउँछु।’
दिलमायाले पनि फेसन डिजाइन व्यवसायमा राम्रो भविष्य देखेकी छिन्। ‘एक पटक सार्वजनिक ठाउँमा लगाएको लुगा प्रायः महिलाले अर्को पटक लगाउँदैनन्,’ उनले भनिन्, ‘लुगा फेरी–फेरी लगाउने बानीले गर्दा यो व्यवसायको भविष्य राम्रो छ।’
सामाजिक सञ्जालका कारण फेसन डिजाइन व्यवसाय झन् फस्टाउँदै गएको उनको बुझाइ छ। ‘एक पटक पार्टीमा जाँदा लगाएको लुगामा खिचेको फोटो फेसबुकमा पोष्ट गरेपछि अर्को पटक त्यो लुगा लगाउँदैनन्,’ दिलमायाले भनिन्, ‘अर्को पटकलाई अर्कै डिजाइनको लुगा चाहिने भएकाले व्यवसाय राम्रो छ।’
कुसुम र दिलमाया दुबै महिलाको पहिरन डिजाइनमा केन्द्रित छन्। तर, अर्डर आयो भने पुरुषको पनि पहिरन डिजाइन गर्ने गरेका छन्।
यसैमा करियर बनाउन चाहनेहरुको संख्या बढेसँगै तालिम प्रदायक संस्था तथा पढाइ हुने कलेजहरु पनि बढिरहेका छन्।
इन्टरनेशनल इन्स्टिच्यूट अफ फेसन टेक्नोलोजीका प्रवन्ध निर्देशक फुपुतेन्जिङ शेर्पा फेसन डिजाइनमै करियर बनाउन चाहनेको संख्या बढिरहेको बताउँछन्। ‘समाज विकास सँगसँगै सबैलाई राम्रो देखिने चाहना बढ्ने भएकाले फेसन डिजाइन व्यवसायमा भविष्य उज्वल छ,’ शेर्पाले भने, ‘त्यही भएर डिग्री होल्डरहरू पनि सीप सिक्न आइरहेका छन्।’
आफ्नो इन्स्टिच्यूटबाट करिब चार सयले फेसन डिजाइन कोर्ष पूरा गरेको उनले बताए। हाल काठमाडौं र ललितपुरमा तालिम संचालन गर्दै आएको इन्स्टिच्यूटले निकट भविष्यमै भक्तपुरमा पनि शाखा विस्तार गर्ने योजना रहेको उनले सुनाए।
करिब तीन दशकदेखि फेसन डिजाइनमा सक्रिय तुयुलक्ष्मी शाक्यको बुझाइमा पनि फेसन डिजाइन व्यवसायको भविष्य दिनप्रतिदिन सुनौलो बन्दै गएको छ।
‘पहिलेपहिले जस्तोसुकै लुगा पाए पनि लगाए हुन्थ्यो, अहिले भने नयाँ नयाँ डिजाइनको लुगा खोजी हुन्छ,’ शाक्यले भनिन्, ‘नयाँ डिजाइन खोज्नेको संख्या घट्ने भन्दा बढ्ने भएकाले यो व्यवसायको भविष्य उज्वल छ’
लामो समय काभ्रेको बनेपामा तालिम चलाएकी शाक्यले पछिल्लो दुई वर्षदेखि बागबजारमा तालिम दिँदै आएकी छिन्।
‘पढेर सर्टिफिकेट मात्र बोकेर के गर्नु, हातमा सीप नभए त कामै छैन भन्दै तालिम लिन आउँछन्,’ शाक्यले भनिन्, ‘तालिममा लागेको खर्च त एक महिनामै उठाउँछन्।’
महिलाको फेसन प्रायः सिजनेवल हुने र पुरुषको बाह्रैमास सिजन हुने भएकाले आफूले दुबैको फेसन डिजाइन गर्दै आएको उनले सुनाइन्।
फेसनले व्यक्तित्व झल्काउने भएकाले पछिल्लो समय मानिसहरू यसप्रति सचेत देखिन्छन्। फेसनका लागि सेलिब्रेटीलाई फलो गर्नेको जमात पनि बढेको छ। व्यक्तिलाई स्मार्ट देखाउने फेसन डिजाइन सिक्नलाई पछिल्लो समय युवा पुस्ताको आकर्षण बढ्दो छ।