बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • समाज
  • क्वारेन्टिनमा अनियमितता : खाना मेसमा, होटलको बिल साढे ३६ लाख

क्वारेन्टिनमा अनियमितता : खाना मेसमा, होटलको बिल साढे ३६ लाख

वडा कार्यालयले अस्वाभाविक रुपमा खर्चको हिसाब निकालेको भन्दै क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यहरुले नै चरम आर्थिक हिनामिनाको आशंका गरेका छन्।
 |  बिहीबार, साउन ८, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, साउन ८, २०७७

काठमाडौं– कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर १ ले क्वारेन्टिन व्यवस्थापनको काममा ७३ लाख ८६ हजार रुपैयाँभन्दा बढी खर्च गरेको हिसाब सार्वजनिक गरेपछि स्थानीयस्तरमा चर्को विरोध भइरहेको छ।

वडा कार्यालयले अस्वाभाविक रुपमा खर्चको हिसाब निकालेको भन्दै क्वारेन्टिन व्यवस्थापन समितिका सदस्यहरुले नै चरम आर्थिक हिनामिनाको आशंका गरेका छन्।

वडा कार्यालयले कोरोना रोकथाम तथा व्यवस्थापमा ७३ लाख ३६ हजार ३१८ रुपैयाँ खर्च भएको हिसाब सार्वजनिक गरेको छ।

वडाध्यक्ष जनक बमको संयोजकत्वमा रहेको क्वारेन्टिन व्यवस्थापन समितिले सार्वजनिक गरेको खर्चको विवरण अस्वाभाविक रहेको भन्दै समितिकै चार जना सदस्यहरुले छानबिनका लागि नगरपालिकामा निवेदन दिएका छन्।

वडा कार्यालयले खानाका लागि क्वारेन्टिन स्थल क्याम्पस र विद्यालयमै मेस चलाएको थियो। खाद्यान्नलगायत सामग्री खरिदमा पनि खर्च देखाएको वडा कार्यालयले होटलको बिल भनेर ३६ लाख रुपैयाँभन्दा बढी खर्च देखाएको छ।

खर्च विवरणअनुसार खाद्यान्न सामग्री खरिद भनेर ६ लाख १३ हजार ३३० रुपैयाँ छ। ३६ लाख ११ हजार ६६५ रुपैयाँ खाना–नास्ताको होटल खर्च भनेर पनि खर्च विवरणमा छ। फेरि एक लाख ४८ हजार ६६० रुपैयाँ खाना नास्ता खर्च भनेर छुट्टै हिसाब छ।

एक जना महिला कोरोना संक्रमित देखिँदा गाउँ सिल गरेको र खटाइएका स्वयंसेवकको भत्ता शीर्षकमा मात्रै आठ लाख ८९ हजार रुपैयाँ खर्च गरेको छ।

यस्तै विभिन्न क्वारेन्टिनमा खटिएका समिति तथा उपसमितिलाई भत्ताबापत १ लाख ९२ हजार रुपैयाँ दिइएको पाइएको छ।

पंखा तथा पाइप खरिद, जडान र मर्मतमा ४ लाख ५२ हजार रुपैयाँ खर्च देखाइएको छ। वडा कार्यालयले कार्पेट र कपडा खरिदमा ७ लाख १२ हजार, मिनरल वाटर र बिजुली खर्च भनेर २ लाख ५२ हजार रुपैयाँ देखाएको छ।

क्वारेन्टिन व्यवस्थापन समितिका सदस्य लवबहादुर शाही, बखतबहादुर विष्ट, अमर रावल र ललित जैशीले वडा कार्यालयले खर्च अस्वाभाविक देखाएको भन्दै छानबिनका लागि नगरपालिकामा निवेदन दिएका छन्।

‘भनेअनुसार खर्च भएकै छैन। करिब आधा रकम हिनामिना भएको छ,’ शाहीले भने, ‘समितिका सदस्यहरुलाई नै जानकारी नदिएर गरिएको खर्चको सत्यतथ्य छानबिन हुनुपर्छ।’

स्वयंसेवकलाई दैनिक पाँच सय र स्वास्थ्यकर्मीलाई दैनिक एक हजार रुपैयाँ भत्ता दिइएको वडाध्यक्ष बमले जानकारी दिए। उनले खर्च स्वभाविक भएको दाबी गरे।

खाना मेसमा खुवाए पनि केहीलाई होटलबाट ल्याएर खुवाएकोले होटलको बिल बनाएको उनले स्वीकार गरे। उक्त वडाका ६ वटा क्वारेन्टिनमा ९२८ जना बसेका थिए।

नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत विक्रम चौधरीले सबै खर्चको विल भर्पाई आइनसकेको बताए। १ नम्बर वडाले पेश्कीस्वरुप ४५ लाख भुक्तानी लगिसकेको समेत उनले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुर कार्यालयको टोलीले लम्कीचुहा नगरपालिकामा बुधबार छापा मारेर कागजात नियन्त्रणमा लिएको छ।

प्रकाशित: Jul 23, 2020| 17:47 बिहीबार, साउन ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।