बुधबार, भदौ १०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अर्ग्यानिक तरकारीखेती विस्तार गर्दै अस्तामका अधिकारी

अर्ग्यानिक तरकारीखेती विस्तार गर्दै अस्तामका अधिकारी

कास्की माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका मोहनप्रसाद अधिकारीले तरकारीको अर्ग्यानिक खेती विस्तार गरिरहेका छन्।
 |  आइतबार, साउन ४, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, साउन ४, २०७७

पाेखरा- कास्की माछापुच्छ्रे गाउँपालिका–६ अस्तामका मोहनप्रसाद अधिकारीले तरकारीको अर्ग्यानिक खेती विस्तार गरिरहेका छन्। उनको एक सय २० रोपनी जग्गामा अकबरे खुर्सानी खेती गरिएको छ। सिताखे च्याउ, कुरिलो, अगरहुड, टोनिकलगायतका तरकारी खेती गर्ने तयारीमा रहेको अधिकारीले बताए।

उनको करिब २२ लाख रुपैयाँ लगानीमा सिनर्जी एग्रो सञ्चालनमा छ।

अकबरे खुर्सानीको ३२ हजार बोटबाट उत्पादन हुन थालेको छ। यसले रोपेको ६ महिनामा पहिलो उत्पादन दिन्छ। चार वर्षसम्म बोटबाट निरन्तर उत्पादन लिन सकिन्छ।

सिताखे च्याउखेती सुरु गरिसकेको र कुरिलोको ५ हजार बिरुवा लगाउने योजना रहेको उनले सुनाए।
बिचौलियाको सक्रियताले किसान मारमा परेको उनी बताउँछन्। उनी भन्छन्, ‘वास्तविक किसानले उचित मूल्य नपाउँदा निकै मर्का परेको छ। खोइ यसबारे राज्यले सोचेको?’

कृषिमा विषादी रोक्नुपर्ने उनको भनाइ छ। उनी भन्छन्, ‘यसका लागि सचेतना जगाउनुपर्छ।’ विकासे मल प्रयोग गर्दा केही वर्ष उत्पादन भए पनि त्यसले पार्ने असरको ख्याल गर्नुपर्ने उनले बताए।

‘कृषिलाई माथि उठाउने कुरा राज्यले कागजमा मात्र सीमित राखेको छ। हामी कृषिबाटै माथि उठ्न सक्छौं’, उनले भने। किसानलाई सबै ज्ञान नभएकाले पनि उत्पादनले दिनुपर्ने आर्थिक उन्नतिमा ह्रास आएको उनले बताए। प्रत्येक एग्रो पसलमा एकजना विशेषज्ञ राख्नुपर्ने पनि अधिकारी बताउँछन्।

नेपालमा कृषि अझै पनि परम्परागत रुपमा अगि बढिरहेको एग्रो सञ्चालिका सीता तिवारी बताउँछिन्। उनी भन्छिन्, ‘कृषि विश्वका अधिकांश मुलुकले अपनाएको पेसा हो। तर हामी अझै पनि परम्परागत तथा जीवन निर्वाहमुखी पद्धतिमै सीमित छौं।
उक्त एग्रोमा ८ जनाले रोजगारी पाइरहेका छन्।

प्रकाशित: Jul 19, 2020| 17:50 आइतबार, साउन ४, २०७७
प्रतिक्रिया दिनुहोस्