काठमाडौं– सरकारले शहरी खानेपानी तथा सरसफाई आयोजनाअन्तर्गत खरिद गरेका सवारी साधनमा निजी नम्बर प्लेट प्रयोग गर्न अनुमति दिएको छ।
मन्त्रिपरिषद बैठकले उक्त आयोजना अन्तर्गत खरिद भएका सवारीसाधनमा उपभोक्ता समिति एवं संस्थालाई निजी नम्बर प्लेट प्रयोग गर्ने गरी हस्तान्तरण गर्न स्वीकृति दिएको हो।
नेपाल सरकार र एशियाली विकास बैंकबीच भएको ऋण सम्झौता बमोजिम शहरी खानेपानी आयोजनाको लागि १० वटा सवारीसाधन खरिद गरिएका छन्।
सरकारको निर्णयसँगै नगर आयोजनाका उपभोक्ता समिति एवं संस्थामा सवारीसाधन निजी नम्बर प्लेटसहित हस्तान्तरण हुने भएका छन्।
त्यस्तै मन्त्रिपरिषद बैठकले दोलखाको खानीखोला जलविद्युत् आयोजना निर्माणका लागि ३.०० हेक्टर राष्ट्रिय वन र सरकारी वन क्षेत्रको जग्गा प्रयोग गर्न दिने पनि निर्णय गरेको छ।
बैठकले नारायणगढ–बुटवल सडक खण्ड विस्तार तथा स्तरोन्नति गर्नको लागि रूखविरूवा हटाउन स्वीकृति पनि दिएको छ।
पढ्नुस्ः
निर्माण व्यवसायीलाई ६ महिना थप समय दिने सरकारको निर्णय