विराटनगर– जिल्ला अदालत मोरङले ३८ किलो सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा संलग्न हरिशरण खड्कालाई थुनामा राख्न मंगलबार आदेश दिएको छ ।
जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौडेलको इजलासले अनुसन्धानका क्रममा खुलेको करिब ३८ किलो सुन तस्करी र हत्या प्रकरणमा मुछिएका उनलाई तत्काल प्राप्त प्रमाणका आधारमा पुर्पक्षका लागि थुनामा राखेर मुद्दाको अनुसन्धान अघि बढाउन आदेश दिएको हो।
गत शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका खड्कालाई प्रहरीले मंगलबार अदालतमा बुझाएको थियो। बुझाउने साथ अदालतले उनीसँग बयान लिएको थियो।
थुनछेक बहस सकिएपछि खड्कालाई पुर्पक्षका लागि थुनामा राख्न इजलासबाट आदेश प्राप्त भएको अदालतका स्रेस्तेदार ईश्वरमणि ओझाले बताए।
खड्कालाई प्रहरीले सोमबार अदालतमा बुझाएको थियो। तर आरडीटी परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएपछि अदालतले तत्काल कामकारबाही रोकेर उनलाई फिर्ता पठायो।
पीसीआर विधिबाट परीक्षण गरेर रिपोर्टसहित पेस गर्न प्रहरीलाई आदेश दिँदै उनलाई अदालतले फिर्ता पठाएको थियो।
प्रहरीले उनको मंगलबार नै पीसीआर विधिबाट परीक्षण गरेको थियो । रिपोर्ट नेगेटिभ आएपछि उनलाई मंगलबार पुनः अदालतमा पेस गरिएको मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्काले बताए।
