काठमाडौं- पौराणिक सहर अयोध्याका बारेमा प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको विवादास्पद अभिव्यक्तिको आलोचना भएको छ।
प्रधानमन्त्री ओलीले भानुजयन्तीका अवसरमा सोमबार बालुवाटारमा आयोजित एक कार्यक्रममा भारतले नक्कली अयोध्या खडा गरेर सांस्कृतिक अतिक्रमण गर्न खोजेको अभिव्यक्ति दिएपछि उनको आलोचना भएको हाे।
ओलीकाे भनाइकाे पेसाकर्मी, लेखक, पत्रकार र राजनीतिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा कडा टिप्पणी गरेका छन्।
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले उक्त अभिव्यक्तिलाई ओलीद्वारा रचना गरिएको कलियुगको नयाँ रामायण भनेका छन्। भट्टराईले सोमबार साँझ ट्विट गरेका छन्, 'आधीकवि ओलीकृत कलीयुगीन नयाँ रामायण श्रवण गरौं, सीधै बैकुण्ठधामको यात्रा गरौं।'
उनले प्रधानमन्त्री ओलीका वचन र कर्मले सीमा नाघ्दै गएको टिप्पणी गरेका छन्।
भट्टराईले मंगलबार बिहान फेरि ट्विटरमा लेखेका छन्, 'संसदमा ‘सिंहमेव जयते’ र बेसार पुराणदेखि अयोध्या पुराणसम्म आउँदा उहाँको चिन्तनप्रणाली स्वस्थ देखिन्न। संसद स्थगन गरेर अध्यादेश/संकटकालको ‘खड्ग’ समेत उहाँको हातमा छ! अब उहाँलाई छाडा छोड्नु खतरनाक हुनेछ! उपचार खोजौं।'
राप्रपा अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री कमल थापाले प्रधानमन्त्रीको स्तरबाट यस्ता उटपट्यांग, अपुष्ट र अप्रमाणित कुरा आउनु सर्वथा उपयुक्त नरहेको बताएका छन्।
उनले ट्विटरमा लेखेका छन्, 'भारतसँग सम्बन्ध सुधार्ने भन्दा बिगार्ने तर्फ प्रधानमन्त्रीको ध्यान गए जस्तो लाग्छ। नक्सा प्रकाशित गरेर अतिक्रमित भूमि फिर्ता ल्याउने प्रयास गर्न छाडेर दुई देशको सम्बन्धमा अनावश्यक विवाद सिर्जना गर्नु राम्रो होइन।'
पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डेले ट्विट गर्दै लेखेका छन्, 'धर्म राजनीति र कूटनीतिभन्दा माथि छ। यो निकै भावनात्मक विषय हो। बेतुकका अभिव्यक्तिले लज्जित मात्र बनाउँछ। अयोध्या वीरगन्ज नजिकै भए सरयू नदी कहाँ छ?'
ओलीका पूर्व प्रेस सल्लाहकार कुन्दन अर्यालकाे ट्विटरमा टिप्पणी छ, 'यो के बोलेको? कि भारतको टेलिभिजन च्यानलहरुसँग प्रतिस्पर्धा गरेको?'
नागरिक अगुवा कनकमणि दीक्षितले पुराणकालीन रामको नगर अयोध्याका विषयमा विवाद खडा गरेर प्रधानमन्त्री ओलीले मूर्खता प्रदर्शन गरेको टिप्पणी गरेका छन्।
वरिष्ठ चिकित्सक डा. रामेशले प्रधानमन्त्री ओलीलेको अभिव्यक्तिप्रति टिप्पणी गर्दै ट्विट गरेका छन्, 'अयोध्या पनि नेपालमै फिर्ता ल्याउनुभएकामा प्रिय प्रधानमन्त्री ओलीजीलाई मुरी मुरी धन्यवाद! अब अर्को वर्ष वृन्दावन र द्वारिका ल्याउनुपर्छ है।'
पत्रकार प्रतीक प्रधानले ट्विटरमा लेखेका छन्– 'सम्पूर्ण नेपालीलाई उच्चतम तहबाट हास्य खजाना बारम्बार बाँटिएकै छ, कसरी सरकारले काम गरेन भन्न सक्छन् हौ?'
बीबीसी हिन्दी अनलाइनमा प्रधानमन्त्री ओली अयोध्याका बारेमा बोलेर थप विवादमा तानिएको समाचार प्रकाशित छ।
हामी अहिले पनि ठानिरहेका छौं हामीले भारतका राजकुमार रामलाई सीता दियौं। भारतका हैन अयोध्याका रामलाई सीता दिएका हौं।
अयोध्या भनेको वीरगन्जभन्दा अलिकति पश्चिमपट्टिको गाउँ हो। अहिले खडा गरिएको अयोध्या होइन। हाम्रोमा विवादै गर्नुपर्दैन। जनकपुर त्यहाँ, अयोध्या वीरगन्जको पश्चिपट्टि ठोरीमा।
वाल्मीकि आश्रम त्यहाँ। दशरथबाट सन्तान नभएपछि पुत्रेष्टि यज्ञ लगाउने पण्डितजी रिडीका।
यहाँको जनकपुर उहाँको अयोध्या हुन्थ्यो भने कहाँ छोरीको बिहे गर्न खोज्या छ। कल्ले के गर्या छ। त्यस बेलाका जमानामा न टेलिफोन, न मोबाइल? कताबाट थाहा होस्? थाहा हुन पनि सम्भव थिएन।
