काठमाडौं– समाजवादी पार्टी केन्द्रीय कार्य समितिले सरिता गिरीलाई पार्टीको साधारण सदस्य र सांसद समेत नरहने गरी कारवाहीको निर्णय गरेको छ।
आज (मंगलबार) बसेको समाजवादी पार्टी पदाधिकारीको बैठकले महासचिव रामसहायप्रसाद यादवको संयोजकत्वमा गठीत कार्यदलको सिफारिसका आधारमा गिरीमाथि कारबाही गरिएको राईले जानकारी दिए। कार्यदलमा मोहम्मद इस्तियाक राई र सुशीला श्रेष्ठ सदस्य थिए।
अब समाजवादीले यससम्बन्धी जानकारी निर्वाचन आयोग र संसदमा पठाउनेछ।
लिपुलेक, लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नयाँ नक्सा जारी भएपछि सांसद गिरीले त्यसको विरोध गरेकी थिइन् । उनले नयाँ नक्सा अनुसार निसान छाप बदल्नका लागि भएको संविधान संशोधनमा पार्टी ह्वीप समेत उल्लंघन गरेकी थिइन्।
पार्टी ह्वीप उल्लंघन गरेको आरोपमा गिरीलाई कारबाहीका गरिएको हो।
जेठ २७ गते निसान छाप परिवर्तन गर्न संविधान संशोधनका लागि मतदान भएको थियो। समाजवादी पार्टीले संविधान संशोधनका पक्षमा मतदान गर्न ह्वीप जारी गरेको थियो। सांसद गिरी भने बैठक चलिरहँदा बाहिरिएकी थिइन्।
त्यसअघि संविधान संशोधन विधेयकमा संशोधन प्रस्ताव दर्ता गराएकी गिरीले पार्टी निर्णय विपरित उक्त प्रस्ताव फिर्ता लिन पनि मानेकी थिइनन्। यद्यपी उक्त प्रस्ताव संसदमा पेश भएन।
