पर्सा- प्रतिनिधिसभाको राज्य व्यवस्था समिति तथा सुशासन समितिबाट विदेशी बुहारीलाई बिहे गरेको सात वर्षपछि अंगीकृत नागरिकता दिने प्रावधानसहितको नागरिकता संशोधन विधेयक पारित भएको छ।
विधेयक सदनबाट पारित भई कानुनी रुप लिएमा मधेसमा नागरिकता लिन थप झन्झट व्यहोर्नुपर्ने सरोकारवाला बताउँछन्।
अधिवक्ता कमलमोहन पोखरेल भन्छन्, 'अहिलेको अवस्थामा त मधेसमा नागरिकता लिन विभिन्न व्यावहारिक समस्या छन् भने सातवर्षे प्रावधानले थप जटिलता उत्पन्न गर्ने निश्चित छ।'
सातवर्षे प्रावधानबारे प्रतिपक्षी नेपाली कांग्रेस, राजपा, समाजवादीलगायतका दलले औपचारिक रुपमा विमति जनाइसकेका छन्। यस्तो प्रावधानविरुद्ध प्रदेश २ मा सत्तारुढ नेकपाकै नेताहरु सडकमा उत्रिएका छन्।
संसदीय समितिबाट पारित भएसँगै विगत दुई वर्षदेखि समितिमा रहेको विधेयक अघि बढिसकेको छ। सरकारले ल्याएको विधेयकमा भने विदेशी महिलालालाई विवाह गरेको ६ महिनापछि नागरिकता दिने प्रावधान थियो। सांसदहरूले राखेको संशोधनका आधारमा सातवर्षे प्रावधान समितिबाट पारित भएको हो।
यसअघि सत्तारुढ नेकपा सचिवालय बैठकले पनि सातवर्षे प्रावधान बनाउनुपर्ने सुझाव दिएको थियो। संसदीय समितिबाट सोही सुझाव पारित भएको छ।
सात वर्षसम्म गैरनागरिक भएर बस्दा महिलाले केकस्ता समस्या भोग्नुपर्ला? विवाह दर्ता, अंशबण्डा, सम्बन्ध विच्छेद, सन्तानको जन्मदर्ता मात्र होइन बैंक एवम् वित्तीय संस्थामा खाता खोल्नसमेत नागरिकता प्रमाणपत्र अनिवार्य चाहिन्छ।
मधेसमा मैथिल, भोजपुरा र अवध समुदायमा छोरीको बिहे भारतमा गर्ने र उताबाट बुहारी ल्याउने प्रचलन निकै पुरानो हो। सातवर्षे प्रावधानले यी समस्या समाधानका लागि के गर्ला भन्ने सर्वत्र चासोका विषय छ।
सात वर्षसम्म गैरनागरिक हुँदा महिला धेरै अधिकारबाट वञ्चित हुने सम्भावना रहेको अधिवक्ता सुधीर कर्ण बताउँछन्। उनी भन्छन् अंशबण्डा, सम्बन्ध विच्छेद जस्ता घटना दर्ता मात्र होइन पतिको मृत्यु भएमा एकल महिला अंशको भागीदार हुने सम्भावना अन्त्य हुन्छ।
त्यस्ता महिलालाई नागरिकता प्राप्त नगरुन्जेलसम्म सरकारले आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार उपयोग गर्नका लागि स्थायी आवासीय अनुमतिपत्र दिने व्यवस्था कति प्रभावकारी होला?
विद्यमान कानुनी प्रावधान सजिलो भए पनि प्रदेश २ का सबै जिल्लामा नागरिकता लिन कुनै न कुनै झन्झट व्यहोर्नुपरेको पीडित बताउँछन्। अहिले त कानुनी प्रक्रिया पूरा गर्दा नागरिकता पाउन झन्झट छ भने अब समस्या थपिएको अधिवक्ता कर्णको भनाइ छ।
पर्सामा दुई सय युवा जन्मसिद्ध नागरिकताबाट वञ्चित
मास कम्युनिकेसनका विद्यार्थी रयान कायस्थले नागरिकता नहुँदा पढ्न भारत जान पाएनन्। जन्मसिद्धका आधारमा नागरिकता पाउनुपर्ने अभियान सञ्चालन गर्दै आएका कायस्थका अनुसार पर्सामा जन्मसिद्ध नागरिकता नपाउने कम्तीमा सय युवा छन्।
यो तथ्यांक अभियानमा सामाजिक सञ्जालमा आबद्ध भएकाहरुको हो। खोज्दै जाने हो नागरिकता नपाउने धेरै हुन सक्ने उनको भनाइ छ। उनीहरु २०६३ पछि नागरिकता पाएका बाबुआमाका सन्तान हुन्।
ठाकुरराम बहुमुखी क्याम्पस शिक्षा संकायमा अध्ययनरत वीरगन्ज १२ का २५ वर्षीय दिपु वर्णवाल पनि नागरिकता नपाएर आफ्ना दाजु विदेश जान नपाएको बताउँछन्। उनी भन्छन्, 'संविधानमा जन्मसिद्धका आधारमा नागरिकता दिने व्यवस्था छ तर हामीले अझैसम्म नागरिकता पाउन सकेका छैनौं।'
जग्गाजमिन नहुँदा वंशजका सन्तानलाई पनि सकस
गीता श्रेष्ठको परिवार तीन पुस्तादेखि वीरगन्ज महानगरपालिका ११ मा बस्दै आएको छ। आफ्नो नाममा पर्सामा जग्गा नहुँदा छोरालाई नागरिकता दिलाउन निकै झन्झट व्यहोर्नुपरेको उनी बताउँछिन्।
उनका ससुरा सुनसरीबाट वीरगन्ज बसाइँ सरेका हुन्। आफ्नो र पति अमृत श्रेष्ठका नाममा जग्गा नभएकै कारण छोरा रोहितको नागरिकता दिलाउन कहिले सुनसरी कहिले वडा अध्यक्ष त कहिले नेताकहाँ दौडधुप गर्नुपरेको उनको भनाइ छ।
उनी भन्छिन्, 'वडा अध्यक्षको सिफारिस भए पनि कहिले लालपुर्जा त कहिले हजुरबुवाको बसाइँ सराइको सिफारिस मागेर हैरान भयौं।'
गैरकानुनी नागरिकता लिनेको खारेज
भारतीय बाबु र नेपाली आमाका सन्तानले नागरिकता लिएको उजुरी प्रदेश २ का आठै जिल्ला प्रशासन कार्यालयमा प्रशस्त छन्।
पर्सा अहिले यससम्बन्धी २४ वटा मुद्दा रहेको जिल्ला अदालत पर्साका सहायक जिल्ला न्यायाधिवक्ता टीकाराम भण्डारीले बताए। उनका अनुसार
यस्ता उजुरीमा प्रायः नागरिकता खारेज हुन्छ। साथै सिफारिस गर्नेदेखि नागरिकता लिने व्यक्तिसम्मलाई कारबाही हुने गरेको जानकारी उनले दिए।
अंगीकृत नागरिकता प्राप्तिको विद्यमान कानुनी व्यवस्था
नेपालको संविधान २०७२, धारा ११
६. नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले चाहेमा संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता लिन सक्नेछ।
७. यस धारामा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि विदेशी नागरिकसँग विवाह गरेकी नेपाली महिला नागरिकबाट जन्मिएको व्यक्तिको हकमा निज नेपालमा नै स्थायी बसोबास गरेको र निजले विदेशी मुलुकको नागरिकता प्राप्त गरेको रहेनछ भने निजले संघीय कानून बमोजिम नेपालको अंगीकृत नागरिकता प्राप्त गर्न सक्नेछ।
तर नागरिकता प्राप्त गर्दाका बखत निजका आमा र बाबु दुवै नेपाली नागरिक रहेछन् भने नेपालमा जन्मेको त्यस्तो व्यक्तिले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्न सक्नेछ।
नेपाल नागरिकता ऐन- ०६३
५. अंगीकृत नेपाली नागरिकता प्राप्ति - (१) नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा तोकिएको अधिकारीसमक्ष तोकिएको ढाँचामा निवेदन दिनु पर्नेछ। त्यसरी निवेदन दिँदा नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्धको र आफूले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा पनि साथै पेस गर्नुपर्नेछ।
नेपाल नागरिकता नियमावली, २०६३
वैवाहिक सम्बन्धको आधारले अङ्गीकृत नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गर्ने कायकार्यविधि-
१. नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा देहायका कागजात संलग्न गरी सम्बन्धित प्रमुख जिल्ला अधिकारीसमक्ष अनुसूची–७ बमोजिमको ढाँचामा निवेदन दिनुपर्नेछ
क. नेपाली नागरिकसँग भएको वैवाहिक सम्बन्ध खुल्ने गरी सम्बन्धित स्थानीय निकायले गरिदिएको सिफारिस,
ख. निजले विदेशी नागरिकता त्याग्ने कारबाही चलाएको निस्सा।
२. उपनियम ९१० बमोजिम प्राप्त निवेदनउपर छानविन गर्दा निवेदक अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र पाउन योग्य देखिएमा निजलाई अंगीकृत नेपाली नागरिकताको प्रमाणपत्र जारी गर्न सकिनेछ।