काठमाडौं- भारत र चीनका सैनिकबीच सोमबार भएको हिंसात्मक भिडन्तबारे नेपाल सरकारले पहिलोपटक औपचारिक प्रतिक्रिया दिएको छ।
परराष्ट्र मन्त्रालयले शनिबार साँझ विज्ञप्ति जारी गर्दै दुवै देशबीचको विवादलाई शान्तिपूर्ण उपायबाट समाधान गर्न सुझाव दिएको हो।
विज्ञप्तिमा चीन र भारतसँग द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति एवम् स्थिरताका लागि वार्ताबाट समाधान खोज्न अपिल गरिएको छ।
'दुवै छिमेकी देशले असल छिमेकीको भाव बोक्दै आपसी मतभेदलाई शान्तिपूर्ण रूपबाट द्विपक्षीय, क्षेत्रीय र विश्व शान्ति र स्थायित्वको पक्षमा हुनेगरी सुल्झाउनेछन् भन्नेमा नेपाल विश्वस्त छ,' विज्ञप्तिमा भनिएको छ।