काठमाडौं- राजपा र समाजवादी पार्टी एकीकरण भएर बनेको जनता समाजवादी पार्टी (जसपा) ले निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिए पनि पाटीभित्रको वरीयता विवाद कायमै छ।
तत्कालीन राजपा र समाजवादी पार्टीबीच गत वैशाख १० गते एकीकरण भएको थियो। भोलिपल्ट ११ वैशाखमा दुवै पार्टीका नेताहरूले निर्वाचन आयोगमा दल एकीकरणबारे जानकारी गराएका थिए। आयोगमा लिखित जानकारी गराएको ४५ दिनभित्र दर्ता गराउनुपर्ने कानुनी प्रावधान छ।
सोहीअनुसार आइतबार ४५ दिन पुग्ने भएपछि दलका नेताहरुले निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका हुन्।
पदाधिकारीमा को को रहने भन्ने टुंगो नलाग्दा एकीकरण घोषणा भएको लामो समयसम्म जसपा दर्ता प्रक्रिया अघि बढ्न सकेको थिएन।
अब पार्टी पार्टी अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव रहने छन्। त्यसपछि अशोक राई, बाबुराम भट्टराई र राजेन्द्र महतोको वरीयता तोकिएको छ। तीनै जना वरिष्ठ नेता रहनेछन्।
पूर्वप्रधानमन्त्री एवम् समाजवादीका संघीय परिषद् अध्यक्ष भट्टराईले दल दर्ताको निवेदन दिने म्याद नगुजार्न हालका लागि आफू वरीयतामा तल परे पनि फरक नपर्ने भनेपछि नेताहरु दल दर्ताका लागि निर्वाचन आयोगमा पुगेका थिए।
नेताहरुबीच उपेन्द्र यादवपछि भट्टराई दोस्रो वरीयतामा रहने सहमति भएको थियो। तर बीचमै विवाद उत्पन्न भएपछि बाबुरामको नाम वरीयतामा पछाडि राखिएको छ। पार्टीको निर्णयमा टिपेक्स लगाएर बाबुरामको वरीयता तल झारी निर्वाचन आयोगमा पेस गरिएको छ।