काठमाडाैं- चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्रबहादुर पाण्डेले छिमेकी मुलुकसँगका सबै समस्या आपसमा बसेर संवादका साथ सार्वभौम र समानताका आधारमा समाधान गर्न सकिने बताएका छन्।
नुवाकोट सरोकार समाजले आज आफूलाई बधाई र शुभकामना दिन आयोजना गरेको कार्यक्रममा राजदूत पाण्डेले चीन र भारत दुवै छिमेकी तथा सबै मित्रराष्ट्रसँग सम्मानपूर्ण व्यवहार नेपालको प्राथमिकता रहेको उल्लेख गर्दै नेपालले राष्ट्रहित, राष्ट्रको आवश्यकता र जनताको भावनालाई सम्बोधन गर्ने गरी कूटनीतिक सम्बन्ध विस्तार गर्ने स्पष्ट पारे।
“कूटनीतिमा तथ्यमा आधारित भएर सत्य खोज्ने र वैज्ञानिक ढङ्गबाट समाधान गरिन्छ। त्यसकारण हामीले छिमेकीसँग मित्रवत् रुपमा संवादबाट सबै समस्याको समाधान गरी ती मुलुकको आर्थिक प्रगतिबाट लाभ लिने योजना बनाउनुपर्छ ”, गत वैशाख ५ गते राजदूतमा नियुक्त पूर्वपरराष्ट्रमन्त्री पाण्डेले भने, “नेपाल कुनै पनि मुलुकको विरोधी होइन तर हामीलाई कसैले धक्का दिन खोजेमा पछि हट्नु हुँदैन। मुलुकको समृद्धिका लागि हामीले योजनामा मात्र नभई व्यवहारमा काम गरेर देखाउनुपर्ने बेला आएको छ।”