काठमाडौं- राष्ट्रिय जनता पार्टी राजपा र समाजवादी पार्टीबीच एकीकरणको सहमति भएर जनता समाजवादी पार्टी (जसपा) बनेको लामो समयसम्म पनि पार्टी निर्वाचन आयोगमा दर्ता हुन सकेको छैन।
दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइसकेको जनता समाजवादी पार्टी आइतबार दर्ताका लागि आयोगमा जाने भनिए पनि आन्तरिक विवाद बढेपछि जान सकेको छैन।
समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले पार्टीको वरीयतामा आफूलाई एक नम्बरमा राख्नुपर्ने अडान राखेपछि दर्ताका लागि निर्वाचन आयोगमा जान नसकेको बुझिएको छ।
आइतबार तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा बसेको बैठकमा वरीयताका विषयमा छलफल भएको थियो।
पार्टी एकीकरणको सहमतिका क्रममा पार्टीको पहिलो वरीयतामा राजपा नेता महन्थ ठाकूरलाई राख्ने सहमति भएको थियो।
तर आइतबार निर्वाचन आयोगमा बुझाउने दस्ताबेजहरुमा डा. भट्टराईले आफूलाई शीर्ष स्थानमा राख्नु पर्ने अडान राखेका छन्।
वरीयतामा कुरा नमिलेपछि निर्वाचन आयोगमा गएर पार्टी दर्ता गराउने मितिमा अन्योल थपिएको छ। यद्यपि नेताहरु छलफल गरेर सहमति गर्ने प्रयासमै छन्।