सोमबार, भदौ ८, २०८३
  • गृहपृष्ठ
  • समाज
  • एक सातासम्म कोरोनाको रिपोर्ट नआउँदा क्वारेन्टिन सम्हाल्नै गाह्रो

एक सातासम्म कोरोनाको रिपोर्ट नआउँदा क्वारेन्टिन सम्हाल्नै गाह्रो

जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ।
 |  आइतबार, जेठ २५, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, जेठ २५, २०७७

रुकुमपश्चिम- जिल्लाबाट परीक्षणका लागि पठाइएका स्वाबको रिपोर्ट एक सातासम्म पनि नआउँदा स्थानीय तहलाई क्वारेन्टिन व्यवस्थापनमा धौधौ भएको छ।

भारत तथा देशका विभिन्न ठाउँबाट आएकालाई स्थानीय तहले क्वारेन्टिनमा राखेका छन्। उनीहरुको स्वाब परीक्षणका लागि सुर्खेत र दाङ पठाइएकामा एक साता बढी भइसक्दा पनि रिपोर्ट नआउँदा स्थानीय तहलाई क्वारेन्टिनमा मान्छेको चाप थेग्नै मुस्किल हुन थालेको छ।

दुई साताभन्दा वढी समयसम्म रिपोर्ट नआउँदा क्वारेन्टिनमा रहेकालाई घर पठाउन नसकिएको आठबीसकोट नगरपालिकाका प्रमुख गोरखबहादुर केसीले बताए।

६२ जनाको स्वाब परीक्षणका लागि जेठ १९ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाइएकामा अहिलेसम्म रिपोर्ट नआएको उनले बताए।

‘शनिबार मात्र थप १५० जनाको स्वाब संकलन गरेर परीक्षणका लागि पठाएका छौँ, यसअघिकै रिपोर्ट आएको छैन, शनिबारको रिपोर्ट झन् कहिले आउने हो’, उनले भने, ‘स्वाब परीक्षणका लागि पठाइएका व्यक्तिहरु क्वारेन्टिनमा बसेको १८ दिन भइसकेको छ, अझै कति दिन बसाल्नुपर्ने हो, दिन प्रतिदिन क्वारेन्टिनमा व्यक्ति थपिने क्रम जारी छ, क्वारेन्टिनमा मान्छेको चाप थेग्नै गाह्रो भइसक्यो।’

मुसिकोट नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले क्वारेन्टिनमा राखिएकाको स्वाब संकलन र परीक्षण हुन नसक्दा समस्या भएको बताए। दुई साताभन्दा लामो समयदेखि मान्छे क्वारेन्टिनमा रहेको उनको भनाइ छ।

‘शुरुमा स्वाब संकलन गर्ने भाडा अर्थात् भाइसर ट्रान्सपोर्ट मिडिया (भिटीएम) नहुँदा स्वाब संकलनमा ढिलाइ भएको र त्यसपछि प्रयोगशालामा पालो नआउँदा मान्छेलाई धेरै दिनदेखि क्वारेन्टिनमै राख्नुपरेको छ’, उनले भने।

जिल्लाबाट झण्डै एक हजार १०० को स्वाब संकलन गरिएको छ। तीनपटकमा ती स्वाब संकलन गरी परीक्षणका लागि सुर्खेत र दाङ पठाइएको स्वास्थ्य सेवा कार्यालयका कोरोना रोग फोकल पर्सन ईश्वर रावलले जानकारी दिए।

उनका अनुसार जेठ १८ गते चौरजहारी नगरपालिकाका १८१ जनाको स्वाब प्रदेश जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र १९ गते आठबीसकोट नगरपालिकाका ६२, मुसिकोट नगरपालिकाका ३२ र सानीभेरी गाउँपालिकाका दुई गरी ९६ जनाको स्वाब राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही पठाएकामा कसैको पनि रिपार्ट नआएको उनले बताए।

त्यस्तै शनिबार जिल्लाका पाँच स्थानीय तहबाट ७७५ जनाको स्वाब सुर्खेत र दाङ पठाइएको छ। त्रिवेणी गाउँपालिकाबाट २६९ र आठबीसकोट नगरपालिकाबाट १५० गरी ४१९ जनाको सुर्खेत तथा बाफीकोट गाउँपालिकाबाट ९८, मुसिकोट नगरपालिकाबाट २४४ र सानीभेरी गाउँपालिकाबाट १४ जनाको गरी ३५६ जनाको स्वाब दाङ पठाएको उनले बताए।

एक साता अगाडि पठाएको स्वाबको रिपोर्ट अझै नआएको अवस्थामा पछिल्लोपटक पठाइएको स्वाबको रिपोर्ट कहिले आउँछ भनेर भन्न सकिने अवस्था नरहेको उनले बताए। प्रयोगशालामा धेरै जिल्लाका स्वाब थन्किएर रहेकाले पालो आउन ढिलाइ भएकाले बताइएको छ। रासस

प्रकाशित: Jun 07, 2020| 16:02 आइतबार, जेठ २५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।