काठमाडौं- रौतहटको राजपुरमा भएको नरसंहारका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।
पूर्वमन्त्री तथा सांसद मोहमद आफताब आलमले करिब एक दर्जन व्यक्तिको ज्यान जाने गरी घटाएको भनिएको घटनाका एक अभियुक्त बाराको सिम्रौनगढ नगरपालिका–४ का ५५ वर्षीय मुक्ति साहलाई प्रहरीले पक्राउ गरेको हो।
प्रदेश नम्बर २ को प्रहरी टोलीले सिम्रौनगढ–८ स्थित एक घरमा लुकेर बसेको अवस्थामा साहलाई शनिबार पक्राउ गरेको प्रदेश २ का डिआइजी धिरजप्रताप सिंहले जानकारी दिए।
घटना भएको स्थान ईट्टाभट्टाका मिस्त्री रहेका साह भारतबाट नेपाल प्रवेश गरेको सूचनाका आधारमा प्रहरीले पक्राउ गरेको सिंहले जानकारी दिए।
२०६४ चैत २७ गते रौतहटको राजपुरस्थित ईट्टाभट्टामा जिउँदै मानिसलाई पुरेर हत्या गरेको आरोपमा पूर्व मन्त्री आलमसहित ११ जनाका नाममा मुद्दा चलिरहेको छ। आलम अहिले जेलमा छन्।
चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको साविकको राजपुरफरहदवा गाविस ४ स्थित शेख इद्रिसको घरमा बम बिस्फोट भएको थियो। बिस्फोटमा नारायणसिंह राजपुतका २२ वर्षीय छोरा पिन्टु भन्ने त्रिलोक प्रताप सिंह र रोक्साना खातुनको छोरा वर्ष २२ वर्षीय ओसी अख्तरसहित अन्य केही व्यक्ति घाइते भएका थिए।
भोलिपल्ट चैत २८ गते संविधानसभा सदस्य चुनावको प्रचार प्रसारका लागि आलमले पिन्टु र ओसीलाई आफ्ना मान्छेमार्फत घरबाट लिएर गएका थिए।
त्यसपछि आलमकै योजनामा पिन्टु र ओसीलाई नजिकैको इँटा भट्टामा लगेर जलाएर हत्या गरिएको आरोप लागेको छ।
पिन्टु र ओसीका परिवारले जिल्ला प्रहरी कार्यालय रौतहटमा आलमसहित उनका भाइ मोहम्मद मोहताब आलम, शेख भदई, शेख मोविन आलम, शेष सराजविरुद्ध कर्तव्य ज्यानमा किटानी जाहेरी दिएका थिए।
साहलाई रौतहट जिल्ला अदालत पेश गरिएको र अन्य ९ अभियुक्त अझैँ फरार रहेको सिंहले बताए।