धनगढी- कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पत्ता लगाउन गरिँदै आएको र्यापिड डाइग्नोस्टिक टेस्ट (आरडीटी) परीक्षण रोक्न सुदूरपश्चिमको प्रदेशसभा सदस्यहरुले माग गरेका छन्।
आरडीटीको विश्वसनियता नै नभएको भन्दै सुदूरपश्चिमको प्रदेशसभा सदस्यहरुले परीक्षण रोक्न माग गरेका हुन्।
आरडीटी परीक्षण बन्द गर्न माग गर्नेमा सत्तारुढ दल र प्रमुख प्रतिपक्ष दुवै दलका सदस्यहरु छन्।
प्रदेशसभाको आइतबारको बैठकमा आरडीटी परीक्षणबाट नेगेटिभ रिपोर्ट आएपछि घर पठाइएकामा पीसीआर गर्दा कोरोना संक्रमण भेटिएको भन्दै परीक्षण बन्द गर्न माग गरेका हुन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीर्घ सोडारी, नेकपाकै पूर्णा जोशी र नेपाली कांग्रेसका भरतबहादुर खड्काले विशेष समय लिएर बोल्दै आरडीटी परीक्षण बन्द गर्नुपर्ने बताए।
आरडीटीको भरमा घर पठाइएकाहरुबाट समाजमा कोरोना फैलिन सक्नेमा उनीहरुले चिन्ता व्यक्त गरे। यसका लागि प्रयोगशालाहरुको क्षमता बढाइनुपर्ने उनीहरुले माग गरे।
कैलालीमा पहिलो पटक कोरोना संक्रमित पत्ता लागेको झण्डै तीन महिना पूरा हुन लाग्दा पनि यसबीचमा गरिनु पर्ने पर्याप्त तयारी गर्न नसकेकोमा उनीहरुले प्रदेश सरकारको आलोचना गरे।
बैतडी र डोटीमा प्रयोगशाला स्थापना गर्ने घोषणा गरेको प्रदेश सरकारले तीन महिनासम्म कुनै काम नगरेकोमा उनीहरुले प्रदेश सरकारप्रति आक्रोश पोखे।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा मृत्यु भएकी एक महिलामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
अस्पतालमा शुक्रवार डायलाइसिस गरेपछि मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की एक महिलामा दाहसंस्कारपछि कोरोना पुष्टि भएको थियो।
डायलाइसिसअघि उनको आरडीटी रिपोर्ट नेगेटिभ आएकाले परिवारका सदस्यहरुले दाहसंस्कार गरेका थिए।