काठमाडौं- राष्ट्रिय जनता पार्टी (राजपा) र समाजवादी पार्टी (सपा)बीचको एकतापछि गठन भएको जनता समाजवादी पार्टी (जसपा) आज निर्वाचन आयोगमा दर्ता गरिँदैछ।
पार्टी नेतृत्वका विषयमा विवादित रहेको जसपा आज सहमति गरेर निर्वाचन आयोगमा दर्ता गराउने तयारीमा नेताहरु जुटेका छन्।
वैशाख १० गते राति सैद्धान्तिक एकीकरणको घोषणा गरेका यी दुवै पार्टीले त्यसको भोलिपल्ट निर्वाचन आयोगलाई जानकारी गराएको थियो। निर्वाचन आयोगमा जानकारी गराएको ४५ दिनभित्र पार्टी एकीकरणबारे दस्तावेजहरु निर्वाचन आयोगमा बुझाउनु पर्ने हुन्छ।
४५ दिन शनिबार नै पुगेकोले र शनिबार विदा भएकाले आज आइतबार पार्टी एकीकरणको दस्तावेजहरु निर्वाचन कार्यालयमा बुझाउने तयारी गरिएको छ।
यो समाचार तयार पार्दासम्म महन्थ ठाकुर र उपेन्द्र यादवको अध्यक्ष मण्डलसहित ५३ सदसीय पदाधिकारीसहितको पार्टी दर्ता गराउने छलफल भइरहेको छ।
तर, नेतृत्वमा संख्या बढाउन सक्ने वा अरु मोडल अपनाउन सक्ने विषयमा थप छलफल भइरहेको छ।
जसपाले एकीकरणको कागजातहरु आज निर्वाचन आयोगमा नबुझाए पुनः ४५ दिन थपको माग गर्नु पर्ने हुन्छ।