धनगढी- कैलालीको गौरीगंगा नगरपालिकास्थित एक क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले वडा कार्यालय घेराउ गरेका छन्।
गौरीगंगा नगरपालिका ६ स्थित अमर माविमा बनाइएको क्वारेन्टिनमा आरडीटी रिपोर्ट पोजेटिभ देखिएका व्यक्तिले पीसीआर परीक्षणको माग गर्दै वडा कार्यालय घेराउ गरेका हुन्।
वडाअध्यक्ष कमला शर्माकले अमर माविको क्वारेन्टिनमा रहेका व्यक्तिले वडा कार्यालय घेराउ गरेको बताइन्। उनका अनुसार उक्त क्वारेन्टिनमा ६२ जनाको तीन दिनअघि आरडीटी परीक्षण गरिएको थियो। तीमध्ये ७ जनाको आरडीटी रिपोर्ट पोजेटिभ देखिएको छ। आरडीटी पोजेटिभ देखिएकामध्ये एक जना घरमै होम क्वारेन्टिनमा बसिरहेको उनले जानकारी दिइन्।
आरडीटी परीक्षण रिपोर्ट पोजेटिभ देखिएकाको पीसीआर परीक्षणका लागि पहल भए पनि सेती प्रादेशिक अस्पतालले हाल स्वाब संकलन बन्द गरेकाले समस्या भएको उनको भनाइ छ। सेती अस्पतालले गत बिहीबार पाँच दिनका लागि स्वाब संकलन बन्द गरेको थियो।
अस्पतालले स्वाब संकलन सुचारु गरे उनीहरुको पीसीआर परीक्षण गरिने उनले बताइन्।
उक्त वडाका ६ क्वारेन्टिनमा दुई सय ५० जना राखिएको वडाअध्यक्ष शर्माले जानकारी दिइन्।