दाहसंस्कार भइसकेपछि कोरोना भाइरसको संक्रमण पुष्टि भएकी धनगढीकी महिलाको प्रदेश सामाजिक विकास मन्त्रालयले मलामी खोज्न थालेको छ।
सेती प्रादेशिक अस्पतालमा डायलासिस गरेपछि मृत्यु भएकी धनगढी उपमहानगरपालिका–४ की ५५ वर्षीय महिलाको दाहसंस्कारपछि कोरोना पुष्टि भएको छ।
मृतक महिलामा कोरोना पुष्टि भएपछि उनको दाहसंस्कारमा संलग्न मलामीको खोजी भइरहेको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले जानकारी दिए।
‘महिलाको चौधरी संस्कार अनुसार दाहसंस्कार भइसकेपछि कोरोना पोजेटिभ देखियो,’ कार्कीले भने, ‘जिल्ला स्वास्थ्य कार्यालय अहिले ट्रेसिङमा जुटेको छ।’ उनले स्वास्थ्य कार्यालयलाई मलामी सबैलाई खोज्न भनेको बताए।
कोरोनाको रिपोर्ट नआउँदै परिवारका सदस्यलाई शव बुझाएर दाहसंस्कार भएपछि टोलमा त्रास फैलिएको छ।
लामो समयदेखि मृगौला सम्बन्धी रोगबाट पीडित महिला यसअघि काठमाडौंमा डायलासिस गराउँदै आएकीमा पहिलो पटक सेती अस्पतालमा डायलासिस गराएकी थिइन्।
डायलासिसअघि उनको आरडीटी रिपोर्ट नेगेटिभ आएकोले मृत्युपछि शव परिवारको जिम्मा लगाएको अस्पतालले जनाएको छ।