जनकपुरधाम- प्रदेश २ मा कोरोना संक्रमणको दर हरेक दिन बढ्दो छ। दुई महिनाअघि रौतहट र पर्सामा देखिएको कोरोना संक्रमण अहिले प्रदेशका आठवटै जिल्लासम्म पुगिसकेको छ।
सामाजिक विकास मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार शुक्रबारसम्म प्रदेश २ मा कोरोना संक्रमितको संख्या ९८३ पुगिसकेको छ। सातवटै प्रदेशमध्ये सबैभन्दा बढी कोरोना संक्रमितको संख्या प्रदेश २ मै देखिएको छ।
प्रदेशको आठ जिल्लामध्ये सबैभन्दा बढी प्रभावित रौतहट देखिएको छ। ९८३ जना कुल संक्रमितमध्ये ३९० जना रौतहटका छन्। रौतहटपछि सबैभन्दा बढी सर्लाहीमा १४९ जनामा संक्रमण पुष्टि भएको छ।
यसैगरी पर्सामा १११, धनुषामा ९२, सप्तरीमा ६९, सिरहामा ४७, महोत्तरीमा ५२ र बारामा ७० जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
संक्रमणको दर बढिरहे पनि प्रदेश २ मा कोरोना परीक्षणको दरले भने अझै गति लिन सकेको छैन। प्रदेश मुकाम जनकपुरसहित वीरगंज र राजविराज गरी तीन ठाउँमा कोरोना परीक्षण भइरहँदासमेत क्वारेन्टाइनमा रहेकाहरुको संख्याको आधारमा जाँचले तिव्रता पाउन सकेको छैन।
सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार प्रदेश २ मा अझै ८ हजार ३९ जनाको पीसीआर नतिजा आउन बाँकी छ। कुल १९ हजार ९५९ जनाको स्वाब संकलन भएकोमा ९८३ जनामा पोजिटिभ र १० हजार ९३७ जनामा निगेटिभ नतिजा आएको छ भने ८ हजार ३९ जनाको नतिजा आउन बाँकी रहेको मन्त्रालयले जनाएको छ।
सप्तरीमा २७०, सिरहामा ६१४, धनुषामा ४९३, महोत्तरीमा ७०१, सर्लाहीमा १ हजार ८७८, रौतहटमा २ हजार ९०१, बारामा ७२६ र पर्सामा ४५६ जनाको पीसीआर नतिजा आउन बाँकी छ। नतिजा आउन बाँकी रहेको यो तथ्यांक राष्ट्रिय प्रयोगशालाको मात्र रहेको प्रादेशिक प्रयोगशालाले जनाएको छ।
यसबाहेक जनकपुरस्थित प्रयोगशालामा पनि पाँच सय भन्दाबढी स्वाब परीक्षण हुन बाँकी रहेको प्रमुख राम विनय साहले बताए।
प्रादेशिक प्रयोगशालासहित प्रदेशका अन्य जिल्लाहरुबाट पठाइएकोमा आठ हजार भन्दाबढी रिपोर्ट राष्ट्रिय प्रयोगशालामा ‘होल्ड’ रहेको उनले जनाए। पछिल्लो तीन दिनमा प्रादेशिक प्रयोगशालाबाट २४२ जनाको स्वाब परीक्षण गरी नतिजा दिइएको साहले बताए।
आठ हजार भन्दा बढीको पीसीआर नतिजा आउन बाँकी छँदा प्रदेश २ का विभिन्न जिल्लास्थित क्वारेन्टिनहरुमा २१ हजार ५३५ व्यक्ति बसेका छन्। क्वारेन्टिनमा रहेकाहरुमध्ये कतिपयको स्वाब संकलन गर्न बाँकी छ।
सप्तरीमा १ हजार ८०९, सिरहामा १ हजार ५२२, धनुषामा १ हजार ८२६, महोत्तरीमा ३ हजार ४३३, सर्लाहीमा २ हजार ४०५, रौतहटमा ८ हजार ७७८, बारामा १ हजार ९४ र पर्सामा ६६८ जना क्वारेन्टिनमा रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ।
यसबाहेक ४ हजार ६०९ जना होम क्वारेन्टिन र ६३४ जना आइसोेलेसनमा रहेको मन्त्रालयले जनाएको छ।