रुपन्देहीको तिलोत्तमा नगरको ७ औ नगरसभा शुक्रबार सम्पन्न भएको छ । नगरसभाले नगरभित्र १० विगाह जमिन चक्लाबन्दी गरी व्यावसायिक खेती शुरु गर्ने महत्वकांक्षी योजना पारित गरेको छ ।
नगरसभाले वडामा सार्वजनिक–निजी–साझेदारी मोडलमा कम्तिमा १० विगाह जमिन चक्लाबन्दी गरी व्यावसायिक खेती सुरु नीति पारित गरेको हो। यसैगरी आगामी आर्थिक वर्षमा किसानलाई ५० वटा दश हर्षपावरसम्मका हाते टेक्टर खरिदमा ५० प्रतिशत अनुदान दिने, प्रत्येक वडामा ५–५ जना अगुवा किसान तयार गर्ने, मकै, गहुँ, तरकारीको बिउ, सिँचाइ बोरिङ, माछा पोखरी, दूध उत्पादन, फूल खेती, पशु बीमा अनुदानलाई निरन्तरता दिइने नगरपालिकाको नीति तथा कार्यक्रममा उल्लेख छ ।
जग्गा बाँझो राख्ने प्रवृत्तिलाई निरुत्साहित गर्ने मापदण्डअनुसार अन्यलाई खेती लगाउन अवरोध गरेमा सो जग्गामा हुने उत्पादनको दोब्बर जरिवाना लिने पनि नगरपालिकाले जनाएको छ । संघीय कार्यक्रम अन्तर्गत भूमि तथा श्रम बैंक स्थापना गर्ने, “कौशी तरकारी तथा फलफूल कार्यक्रम” प्रभावकारी रुपमा सञ्चालन गर्ने, नगरको उपयुक्त स्थानमा पशु हाटबजार सञ्चालन गर्ने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।
नगरसभामा नगर प्रमुख वासुदेव घिमिरेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । प्रस्तुत नीति तथा कार्यक्रममाथि दफाबार छलफलको लागि नगरसभाको दोस्रो बैठक आइतबार बोलाइएको छ ।
नीति तथा कार्यक्रममा सामन्यतया चालु वर्षकैं करको दररेटलाई नै आगामी आर्थिक वर्षमा निरन्तरता दिइने, कोभिड–१९ को कारण बन्दाबन्दी हुँदा चालु आर्थिक वर्षमा कर तिर्न नपाएकाहरुलाई आगामी आर्थिक वर्षको ३ महिनासम्म कुनै प्रकारको हर्जाना नलिने उल्लेख छ । ‘यो कार्यक्रम बाल्यकालमा शिक्षा, स्वास्थ्य र पोषण, युवा अवस्थामा सीप, उद्यमशीलता र रोजगारी, जीवनको उत्तराद्र्धमा जेष्ठ नागरिकलाई सम्मान, संरक्षण, महिलालाई समतामूलक अवसर सिर्जनामा केन्द्रित छ,’ नगर प्रमुख घिमिरेले बताए ।
कोरोना भाइरसका कारण चालु आर्थिक वर्षको बजेट कार्यान्वयन प्रभावित भैरहँदा तिलोत्तमाले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको लक्ष्य समृद्ध नगरः खुशी नगरबासी नै राखेको छ । कोभिड–१९ को प्रभाव हटेपछि चालु आर्थिक वर्षका बाँकी र नयाँ कामहरु तीव्रताको साथ अघि बढ्ने भन्दै तिलोत्तमाले आगामी आर्थिक वर्ष ‘तीव्र विकासको वर्ष’ हुने जनाएको छ ।
स्वास्थ्य चौकीहरुलाई न्यूनतम पूर्वाधार, उपकरण, जनशक्तियुक्त बनाई भरपर्दो र विश्वसनीय सेवा सहितको आकर्षक स्वास्थ्य केन्द्रको रुपमा विकास गर्ने, थप २ स्वास्थ्य चौकीमा चिकित्सक नियुक्त गर्ने, प्रयोगशालाबाट एनालाइजर सहितको सेवा प्रदान गर्ने, सेमराबजार स्वास्थ्य चौकीलाई अस्पतालको रुपमा रुपान्तरण गर्ने, प्रत्येक स्वास्थ्य संस्थामा सुविधा सम्पन्न खोप केन्द्र सञ्चालनको लागि पूर्वाधार निर्माण गर्ने, सामुदायिक विद्यालयमा विद्यालय स्वास्थ्य कार्यक्रम लागु गर्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।
७५ वर्ष उमेरमाथिका जेष्ठ नागरिक तथा अपाङ्गता भएकाहरुको आधारभूत स्वास्थ्य सेवा घरमै पुगेर प्रदान गर्ने, विपन्न वर्गलाई स्वास्थ्य बीमामा अनुदान दिने, वर्थिङ्ग सेन्टरमा सुत्केरी हुने महिलाको प्रोत्साहन भत्ता १ हजार पुर्याउने, गर्भवती महिलालाई सुपानेट झुल दिने पनि तिलोत्तमाको नीति तथा कार्यक्रममा समेटिएको छ ।
शिक्षामा चालु आर्थिक वर्षका सबै कार्यक्रमलाई निरन्तरता दिँदै कम्तिमा ५ वटा सामुदायिक विद्यालयलाई बस खरिदको लागि प्रतिविद्यालय नगद १० लाख विशेष अनुदान उपलब्ध गराइने नीति तथा कार्यक्रम रहेको नगरका प्रवक्ता सुरेन्द्र श्रीले बताए ।
सोह्र–छत्तीस मूल नहरको सम्भाव्य स्थलमा बहुउपयोगी जलासय निर्माण गरी माछापालन गर्ने, नगरका सम्भाव्य स्थानमा जलासय निर्माण गरी पानी रिचार्ज हुने व्यवस्था मिलाउने, “तिलोत्तमा लगानी सम्मेलन” मा जनाइएको प्रतिबद्धताअनुसार परियोजना कार्यान्वयनको लागि आवश्यक सहजीकरण गर्ने, नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा थप १५० जना युवालाई ४ लाख सम्म सहुलियत ऋण दिने, सुधारिएको आरन पेशामा आवद्ध हुन चाहनेलाई उपकरणमा ८० प्रतिशत अनुदान दिने नगरपालिकाको योजना रहेको उपप्रमुख जागेश्वरी चौधरीले बताईन् ।