प्रदेश १ सरकारले आज नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।
प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले आज प्रदेश सभामा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आगामी असार १ गते आउने बजेटको पूर्वसन्ध्यामा प्रदेश सरकारले आज प्रदेश सभामा नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
प्रदेश १ सरकारले कोभिड–१९ आतंक आएसँगै स्वाथ्य क्षेत्रमा प्राथमिकतासहितका कार्यक्रमहरु सार्वजनिक गरेको छ । जस अनुसार प्रदेश १ का १४ जिल्लाका अस्पताललाई आइसोलेसन वार्ड सहित सय शैयाको क्षमता स्तरोन्नति गर्ने कार्यक्रम उल्लेख छ।
प्रदेश राजधानी विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालाई प्रदेश सरकारको मातहतमा ल्याउन र धनकुटाको जिल्ला अस्पतालाई ६ भेन्टिलेटरसहित बहु बिशिष्ठिकृत अस्पताल बताउने सरकारले कार्यक्रम ल्याएको छ ।
हरेक स्थानीय निकायका अस्पतालहरुको स्तरोन्नतिसहित मोरङको मंगलबारेको ट्रमा सेन्टरलाई अत्याधुुनिक उपकरण सहित मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरको रुपमा विकास गर्ने प्रदेश सरकारले कार्यक्रम ल्याएको छ ।
प्रदेशभित्र एम्बुलेन्स सेवालाई प्रभावकारी बनाउन जिपिएस म्यापिङ सहित लाइफ सपोर्ट उपकरणयुक्त बनाउने सरकारले योजना ल्याएको छ । यस्तैगरी, प्रदेश जनस्वास्थ्य प्रयोगशाला बनाउन पनि प्रदेश सरकारले कार्यक्रम ल्याएको छ ।
प्रदेश सरकारले आविष्कार क्षेत्रको प्रोत्साहनको लागि प्रदेश आविष्कार कोष निर्माण गर्ने भएको छ । कृषिमा दिइने नगद अनुदार निरुत्साहन गर्ने नीति समेत प्रदेश सरकारले ल्याएको छ । इटहरीमा बाहिरी चक्रपथ निर्माण, इटहरीको तालतलैया क्षेत्रलाई प्रादेशिक पर्यटन गन्तव्य निर्माणदेखि इटहरीमा अन्तर्राष्ट्रिय सभा हल बनाउन प्रदेश सरकारले नीती तथा कार्यक्रम बनाएको छ ।
पूर्व पश्चिम राजमार्गको कोशी गाउँपालिका क्षेत्रमा कोशी रिफ्रेसमेन्ट सेन्टरदेखि मेची राजमार्ग क्षेत्रको इलाममा मेची रिफ्रेसमेन्ट सेन्टर निर्माण गर्ने कार्यक्रम प्रदेश सरकारले ल्याएको छ । विराटनगरको नेपाल भारत सीमा रानीमा प्रदेशको पहिचान झल्कने कालात्मक प्रवेशद्धार निर्माणको कार्यक्रम प्रदेश प्रमुखले सार्वजनिक गरेका छन् ।
प्रदेशमा २ सय मेगावाट सम्ममा विद्युत आयोजना विकास गर्दै हरेक घरमा बिजुली पुर्याउने नीति तथा कार्यक्रममा स्विस सरकारले सहयोग गरेको मध्यपहाडी मझौला कृषि सिँचाइ कार्यक्रममा समेत प्रथामिकता दिने उल्लेख गरेको छ ।
विपन्न बस्तिमा सौर्य उर्जा कार्यक्रमहरु संचालन गर्ने तथा एक गाउँ एक उत्पादनदेखि झोलुङ्गे पुल निर्माणका कार्यक्रमहरु निरन्तरमा दिइने सरकारले कार्यक्रम ल्याएको छ ।