काजी आलेमगर, बारपाक सुलिकोट ६, गोरखा
म विगत ६ वर्षदेखि आबुधाबीमा छु। गत मे ८ देखि नै मलाई थकान महसुस हुने तथा खान मन नलाग्ने भइरहेको थियो। सामान्य रुघाखोकी त पहिलादेखि नै भैरहन्थ्यो, त्यसैले मैले सिजनल फ्लु होला भनेर त्यति वास्ता गरिनँ।
मेरो काम गर्ने ठाउँ र बसाइ कोरोना अतिप्रभावित क्षेत्रमा थियो तैपनि मलाई कोरोना नै भएको होला भनेर शंकासमेत गरिनँ। आफ्नो कामलाई निरन्तरता दिएँ।
मे १० मा ज्वरो आउन थाल्यो, जिउ भारी भयो, तर कम्पनीमा काम नरोकिएको हुनाले म काममा जानुपर्ने नै थियो। राती ज्वरो आए पनि नेपालबाटै ल्याएको सिटामोलको एक चक्की खाएर काममा हिडेँ। अन्य दिनभन्दा त्यसदिन काम गर्न सकिनँ र काम गर्ने स्थानबाटै एम्बुलेन्समा हस्पिटल गएँ।
एम्बुलेन्सले मलाई कोरोना आशंकामा सरकारी अस्पतालमा लग्यो तर त्यहाँ कोरोना पुष्टि भैसकेको बिरामी वा कम्पनीले प्रदान गरेको बिमा कार्ड चल्नेको मात्र उपचार हुने रहेछ।
सुरुवातमा चेकअप गर्न मेरो बिमा कार्डले त्यहाँ काम गरेन र मलाई अर्को कोरोना अस्पताल जान भनियो। त्यो दिन केही ज्वरो र खोकीको औषधि लिएर त्यतिकै फर्केँ। त्यही औषधि, तातो पानी र बाफ लिएर घरमै बसेँ, तर त्यसबाट कुनै सकारात्मक प्रभाव देखिएन। त्यसपछि बिहानबेलुका झनै ज्वरो आयो। आँखा बेस्सरी दुख्न थाल्यो, लामो समयसम्म निर्धक्क आँखा खोलेर हेर्न सकिन। टाउको दुख्यो, शरीरमा कत्ति पनि तागत नभएझै भयो। केही पनि नरुच्ने भयो। एक हप्तासम्म सहेरै बसेँ तर झनै बिरामी हुँदै गएँ।
आठौँ दिन (मे १८) मा मलाई सुख्खा खोकी पनि लाग्न थाल्यो। खोकी सुरु भएपछि निरन्तर ३, ४ मिनेटसम्म लागिरहन्थ्यो। मलाई झनझन् गाह्रो हुँदै जान थाल्यो। घाँटी र छाती चिलाउन थाल्यो। उत्तानो परेर सुत्न पनि नसक्ने भएँ। उत्तानो परेर सुत्दा खोकी लाग्ने र श्वास फेर्न गाह्रो हुने भयो।
म बसेको क्याम्प कोरोना भाइरसको कारण पुरै सिल थियो। कोही पनि मान्छे वा सवारी साधन (अत्यावश्यक बाहेक) पुलिस र सम्बन्धित निकायको अनुमतिबिना बाहिर जान र भित्र आउन पाउँथेनन्। एम्बुलेन्सहरु कोरोनाका बिरामी ओसार्न व्यस्त थिए।
सन्चो होला भन्दै घरमै बसेको म मे १९ मा सिकिस्त जस्तै नै भएँ। बान्ता हुने र पखालासमेत लाग्ने हुन थाल्यो। साथीहरुलाई पनि जानकारी दिएर क्याम्पको व्यवस्थापन पक्षसँग कुरा गरेपछि एम्बुलेन्स आयो।
मे १९ को बेलुकी बेलुकी म अस्पताल गएँ। अस्पताल जाँदै गर्दा एम्बुलेन्समा पनि लगातार खोकी लाग्यो, एम्बुलेन्सभित्र सेनिटाइज गरेको केमिकलको गन्धले बान्ता भयो, श्वासै रोकिएलाझै भयो।
अब बाँचिदैन जस्तो लाग्यो।
यतिबेलासम्म मैले गोरखा घरमा समेत कसैलाई आफू बिरामी भएको भनेको थिइन। एम्बुलेन्समा रहँदा गाह्रो हुँदै गएपछि हरेक क्षेण घर परिवार सम्झीरहेँ। आफू बिरामी भएको जानकारी घरमा जानकारी नगराएकोमा पछुतो भयो।
श्वासप्रश्वासमा समस्या भएपछि मैले आफैले श्वास खिचेर एम्बुलेन्सभित्रै मेडिटेसनको प्रयास गरेँ। केहिबेर शान्त भयो। अस्पताल पुगेपछि फेरि खोकी शुरु भयो, बान्ता भयो। बान्ता गर्दा र्याल र रगतबाहेक अरु केही थिएन। मलाई तत्काल इमरर्जेन्सी वार्डमा लगियो। त्यहाँ पनि बान्ता हुन नरोकिएपछि मलाई तातो पानी र केही औषधि र इन्जेक्सन दिइयो। एक घण्टापछि केही सुधार भयो।
त्यसपछि छातिको एक्सरे, ईसीजी तथा सिटिस्क्यान गरी रगत परीक्षणको लागि नमुना लिइयो। कोरोना परीक्षणको लागि पनि स्वाब लिइयो। केही घण्टापछि नर्स आएर मलाई छातीमा इन्फेक्सन भएको भनियो। कोरोनाको रिपोर्ट आउन समय लाग्ने भन्दै २२ मे मा फेरि अस्पतालमा आउन भनियो।
म एम्बुलेन्समै फर्किएँ। मलाई छाती इन्फेक्सनको औषधि, ब्याक्टेरिया फैलिन नदिने औषधि, ज्वरो र खोकीको गरि ४ थरी औषधि दिइएको रहेछ। त्यो खाएपछि केही राहत भयो र सुतेँ। त्यसपछि तीन दिनसम्म खोकी लाग्न कम भए पनि ज्वरो आउने, खाना नरुच्ने तथा थकान महसुस हुने भइरह्यो।
मे २२ मा फ्लोअपको लागि अस्पताल जाने तयारीमै थिएँ त्यतिकैमा अस्पतालबाट फोन आयो र मलाई कोरोना पोजिटिभ भएको खबर पाएँ। त्यसपछि केहीबेर आफूलाई समाल्नै गाह्रो भयो। त्यसपछि मैले बल्ल घरमा आफू बिरामी भएको जानकारी गराएँ। तर बुढा भएका आमाबुवा आत्तिनुहोला भनेर कोरोना संक्रमित भएको कुरा भनिन।
एक पटक आफूलाई भइरहेको लक्षणहरु सम्झीएँ, शरीर झन् गलेर आयो। खाना नरुच्ने त थियो नै त्यसपछि झनै रुचेन। १२ बजेतिर मलाइ लिन एम्बुलेन्स क्याम्पमै आइपुग्यो। म फेरि अस्पताल गएँ।
त्यहाँ फेरि सबै दोहोर्याएर चेकअप भयो। दोस्रो स्वाब लियो र हस्पिटलमा भर्ना गरियो। २३ मे मा दोस्रो रिपोर्ट पनि पोजेटिभ नै आयो फेरि मन केही हतास भयो।
अस्पताल भर्ना भैसकेपछि भने राम्रो उपचार पाएँ। चिकित्सकहरुको राम्रो व्यवहारले मलाइ रोग जित्न निकै सहयोग गरेको थियो। चिकित्सकहरु नजिक आउँदा मलाई निकै खुसी लाग्ने र बाँच्ने आशा बढ्ने हुँदो रहेछ।
नर्सहरु २४ घण्टामा ६ पटकसम्म हेर्न आउँथे। खाना, औषधि, चेकअप सबै तोकिएकै समयमा हुन्थ्याे।
यसरी ७ दिनको उपचारपछि तेस्रो पटक परीक्षणको लागि स्वाब लियो। रिपोर्ट आउन समय लाग्यो, तेस्रो पटककको रिपोर्ट नआउँदै चौथो पटक स्वाब लियो। दुबै परीक्षणको एकैपटक नेगेटिभ रिपोर्ट आएछ।
नेगेटिभ रिपोर्ट आएपछि १४ दिन सेल्फ क्वारेन्टाइनमा बस्ने गरी जुन ४ अर्थात् हिजो म अस्पतालबाट डिस्चार्ज भएँ। डिस्चार्ज भइसके पनि केही पूर्णरुपमा सन्चो भएको महसुस गर्न पाएको छैन।
मेरो यो भोगाइअनुसार कोरोनालाई ख्यालख्यालमा नलिऔँ, तर नआत्तिऔँ। मैले जसरी कोरोनालाई सामान्य रुपमा नलिन मेरो आग्रह छ। किनकी मलाई कोरोना जित्न निकै कठिन भयो।