काठमाडौं- गौरादह नगरपालिका–७ का धनञ्जय चुडालले अरुजस्तै धानखेती गरेका छन्। लोपोन्मुख बास्मती प्रजातिको प्रवर्द्धन गर्न उनले लगाएको धान खेतमा धान गोड्न भने हाँस छोड्ने गरेका छन्। सुरुमा यो विधि कस्तो होला भनेर द्वुविधामा परेका किसानहरु अहिले विस्वस्त भएको चुडाल बताउँछन्।
‘हाँसले खेत गोड्छ भन्दा सुरुममा कस्तो–कस्तो मानिएको थियो,’ चुडाल भन्छन्, ‘अहिले मैले गरें। राम्रै भयो। अरु साथी तथा छरछिमेकले अब हामी पनि गर्ने भन्नु भा’छ। अर्को वर्ष त निकै हाँस हालिन्छ होला।’
सो धान खेती पनि वैकल्पिक ढंगबाट गरिएको छ। निजी क्षेत्रबाट गठन गरिएको राष्ट्रिय खाद्यान्न बैंक लिमिटेडको संयोजकत्वमा गरिएको धान खेती अघि बढाइएको हो। बैंकका कार्यकारी अध्यक्ष शंकरनाथ उप्रेती पहिलो वर्ष परीक्षणका रुपमा जापानी प्रविधिको ‘राइस डग फार्मिङ’ अनुसार धान खेतमा हाँस छोड्ने गरिएको हो।
धानमा हाँस छोड्नुको धेरै फाइदा भएको कृषक चुडाल बताउँछन्। ‘एक त अहिले गोडाउने मान्छे नपाउने बेलामा मान्छेको सट्टा हाँस प्रयोग गर्न पाइयो,’ उनी भन्छन्, ‘अर्को यसले धानमा भएको किरा फट्याङग्रा खाइदिने हुँदा विषादीको खर्च पनि घट्यो। अनि यो दिउँसभरि खेतमा चर्दा यसले खेतमै विष्ट्याउने हुँदा मलको काम पनि गर्यो।’

चीन तथा जापानमा व्यापक रुपमा ‘राइस डग फार्मिङ’ हुने गर्छ। खाद्यान्न बैंकले सोही प्रविधिलाई यहाँ नमुना परीक्षण गरेको हो। पहिलो वर्षको प्रयोग सफल भएको कृषक चुडाल बताउँछन्। धान रोपिएपछिको २२ दिन जतिमा खेतमा हाँसका २२ दिन भएका चल्ला खेतमा छोडिन्छ।
सुरुमा चल्ला खरिद गर्दा किसानलाई केही आर्थिक भार परे पनि परम्परागत रुपमा खेती विधिमा जस्तो थप लागत नलाग्ने हुँदा फाइदा अधिक हुने उप्रेती बताउँछन्। ‘यसले धानको उत्पादन बढाउने र हाँसको बिक्रीबाट अतिरिक्त आम्दानी पनि हुन्छ,’ उनी भन्छन्।
झापा गौरादहमा हुने स्थानीय जातको बास्मती प्रवर्द्धन गर्ने बैंकले किसानहरुलाई यो विधिमा सहयोग गरेको हो। हाल गौरादहका पाँच विघाजतिको खेतमा यो विधिअनुसार खेती भइरहेको छ।
‘पाँच विघाको एक हेक्टरजतिमा हाँस छोडिएको छ,’ उप्रेतीले भने, ‘एक हेक्टर खेतमा दुई हजार हाँस छोड्न सकिन्छ। धानको प्रजातिअनुसार धानको वाला लाग्नुअघिसम्म झण्डै चार महिना खेतमा हाँस छोड्न सकिन्छ।’
यसरी खेती गर्दा २० प्रतिशतसम्म उत्पदान बढ्ने अनुमान छ भने पूर्णतः अर्गानिक खेती अपनाइएकाले उत्पादनको मूल्य पनि बढ्छ। ‘धानबालीलाई मात्रै नभएर अन्य बालीमा पनि हाँसको मलले काम गर्ने हुँदा अर्को फाइदा पनि छ,’ चुडाल भन्छन्।
रोपोको पानीमा चर्ने हाँसले आफ्नो चारो खोज्ने क्रममा धानका गाँजालाई गोड्छन्। हाँसले चुच्चो र खुट्टाले निरन्तर माटो चलाउने गर्दा धानलाई गोडमेल पुग्छ र धान सप्रिन्छ।

यस अवधिमा एउटा हाँसले चार किलोसम्म मल दिन्छ। यो सबै खेतमा नै हुने भएकाले खेत मलिलोसमेत हुन्छ। चार महिनासम्ममा हाँस बिक्री गर्न मिल्ने भएकाले यसबाट राम्रो आम्दानी हुन्छ। यसले धान उत्पादनको लगानीसमेत कम हुने गर्दछ।
खाद्यान्न बैंकको लगानीमा गौरादह नगरपालिका–७ र २ मा गरी ११ जना किसानको ५० बिघा जमिन ठेक्कामा लिएर चार प्रकारका बास्मती धान लगाइएको छ। ती मध्ये तीन बिघा जमिनलाई जालीले घेरेर हाँस छोड्न थालिएको हो।