काठमाडौं- सरकारले लकडाउन मोडालिटीबारे कार्ययोजना बनाएर पेश गर्न कोभिड १९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिलाई निर्देशन दिएको छ।
बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकले समितिले पेश गरेको कार्ययोजनापछि लकडाउनको मोडालिटी तय गर्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिए।
यसअघि उच्चस्तरीय समन्वय समितिलाई विज्ञहरुले सतर्कता अपनाउँदै जोखिम कम भएका क्षेत्रमा लकडाउन खोल्न सकिने सुझाव दिएका थिए।
लकडाउनको सार्वजिनक विरोध र अवज्ञा भइरहेका बेला बसेको मन्त्रिपरिषद बैठकले निश्चित क्षेत्रमा लकडाउन खुकुलो पार्ने गरी नयाँ मोडालिटी ल्याउने अपेक्षा गरिए पनि त्यसो भने हुन सकेन ।
त्यस्तै सरकारले केही कर्मचारीको नियुक्ति र सरुवाबारे पनि निर्णय गरेको ती मन्त्रीले जानकारी दिए।
सरकारले गत चैत ११ गतेबाट लागू हुनेगरी घोषणा गरेको लकडाउन पटक पटक थप्दै आएको छ। पछिल्लो समय जेठ ३२ गतेसम्मका लागि लकडाउन तोकिएको छ।