काठमाडौं- लकडाउनका बेला बढी मूल्य लिएर मेडिकल सामग्री बिक्री गर्ने नेपालगन्जका दुई पसलमाथि कारबाही गरिएको छ।
थर्ममिटर र मास्कको कालोबजारी गर्ने नेपालगन्ज उपमहानगरपालिका–४ न्युरोडस्थित ग्लोबल साइन्टफिक कर्पोरेसन र बीपी चोकमा रहेको नेपालगन्ज सर्जिकललाई जरिवाना तोकिएको हो।
ग्लोबलले माक्स बढी मूल्यमा बिक्री गरेको र अन्य व्यवसायीसँगको मिलेमतोमा इन्फारेट थर्मामिटरको मूल्य वृद्धि गरेकाले दुई लाख जरिवाना गरिएको वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयले जनाएको छ।
यस्तै नेपालगन्ज सर्जिकलले मूल्यसूची नराखी खुद्रा बिक्री मूल्य उल्लेख नभएका मालसामान बिक्रीवितरण गरेकोले तत्काल ६० हजार रुपैयाँ जरिवाना गरिएको सूचना अधिकारी देवीलाल चौलागाईले जानकारी दिए।
अनुगमनका क्रममा मनकामना सर्जिकेयरले खुद्रा बिक्री मूल्य उल्लेख नभएका करिब ४२ हजार सात सय २० रुपैयाँ बराबरको एक सय ८२ थान सेनिटाइजर फिर्ता गर्न निर्देशन दिइएको छ।
यस्तै औद्योगिक क्षेत्र नजिकैको देउती सर्जिकलले पनि खुद्रा बिक्री मूल्य उल्लेख नभएका २४ थान सेनिटाइजर फिर्ता गर्न सचेत गराएको चौलागाईले जानकारी दिए।