काठमाडाैं- सिन्धुली तीनपाटन गाउँपालिका १० औलडाँडास्थित दुधौली नगरपालिका ४ बस्ने रामचन्द्र पहाडीको कुखुरा फर्मका पुराना काठ लैजाने क्रममा ३ लाख ३० हजार ५ सय रुपैयाँ घुस रकम लिएको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्नेमा स्थानीय जनकल्याण सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ३७ वर्षीय मीनबहादुर घोले र जनसेवा सामुदायिक वन उपभोक्ता समितिका कोषाध्यक्ष ६१ वर्षीय तीर्थबहादुर राना छन्।
उक्त कुखुरा फर्मका पुराना काठहरु तीनपाटन गाउँपालिका ९ तर्फ लैजाने क्रममा उनीहरुले घुस रकम लिएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय डकाहाबाट खटिएको प्रहरीले मीनबहादुरको साथबाट ३ लाख रुपैयाँ र तीर्थ बहादुरको साथबाट ३० हजार ५ सय रुपैयाँ बरामद गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो।
उनीहरुलाई आवश्यक कारबाहीका लागि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बर्दिबास महोत्तरीमा बुझाइएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।