जनकपुरधाम – ‘लकडाउन’ अवज्ञा गरी पसल खोलेको भन्दै प्रहरीले जनकपुरका एक व्यापारीमाथि निर्ममतापूर्वक कुटपिट गरेको छ। जनकपुरको जानकी चोकस्थित गीता गिफ्ट पसलका सञ्चालक श्याम साहलाई प्रहरीले कुटपिट गरेको हो। प्रहरीको कुटपिटपछि सञ्चालक साहको शरीरमा निलडाम बसेको छ।
अन्य पसलहरु समेत खुलेकोबेला आफूपनि पसलमा सरसफाई गरिरहेको समय जिल्ला प्रहरी कार्यालयबाट आएको प्रहरी टोलीले कुटपिट गरेको सञ्चालक साहले बताए।
‘अन्य पसलका सटरहरु पनि खुलेको देखेर म पनि पसलमा सरसफाई गरिरहेको थिएँ’, साहले भने, ‘पसलमासँगै रहेका मेरो बाबुमाथि प्रहरीले हातपात गर्न खोज्यो। प्रतिकार गरेपछि निलडाम हुनेगरी कुटपिट गरेको छ।’
साहलाई कुटपिट गर्नुका साथै प्रहरीले नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालयसमेत लगेको थियो। जनकपुर चेम्बर्स अफ कमर्सको पहलमा प्रहरीले व्यवसायी साहलाई रिहा गराएको छ।
‘लकडाउन’ कै अवधिमा काठमाडौंसहित अन्य कतिपय स्थानमा पसलहरु सञ्चालन भइरहेको अवस्थामा प्रहरीले व्यवसायीमाथि गरेको कुटपिटको चेम्बर्स अफ कमर्सका साथै जनकपुर उद्योग वाणिज्य संघले विरोध गरेको छ। कमर्स र वाणिज्य संघले छुट्टाछुट्टै विज्ञप्ति जारी गरेर व्यवसायी कुटपिट गर्ने दोषी प्रहरीलाई कारबाहीको माग गर्दै व्यवसाय सञ्चालनको उचित वातावरण तयार पार्न सम्बन्धित निकायसँग आग्रह गरेको छ।
यता, पटक पटक व्यवसायीहरुलाई प्रहरीले कुटपिटका साथै दुर्व्यवहार गरिरहेपनि जनकपुर उद्योग वाणिज्य संघ मुकदर्शक बनेर बसेको भन्दै स्थानीय व्यवसायीहरुले नै गुनासो गरेका छन्।