काठमाडौं- संघीय संसदमा दुईवटा महत्वपूर्ण विषय अड्किएका छन्- संविधान संशोधन विधेयक र एमसीसी सम्झौता।
सरकारले नेपालको निशान छापमा परिवर्तित नक्सा समायोजन गर्न दर्ता गराएको संविधान संशोधन विधेयक टेबुल भएको छ।
यस्तै अमेरिकी सहयोगसम्बन्धी एमसीसीको सम्झौता अध्ययनका लागि सांसदहरुलाई दिइएको छ। तर दुवै विषय तत्काल पारित हुने संकेत देखिएको छैन।
संसदबाट अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौता अनुमोदन गर्न नहुने भन्दै सडकमा विरोध सुरु भएको छ। सत्तारुढ दलभित्रै एमसीसीमा सहमति नजुटेका बेला सरकारले यसलाई बजेटमा समेटेपछि विरोध हुन थालेको हो।
संघीय संसद सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेका अनुसार एमसीसी परियोजनाको सम्झौतापत्र सांसदहरुलाई अध्ययनका लागि दिइएको छ। तर, कहिले अनुमोदन गर्ने विषयमा छलफल नभएको उनले बताए।
सम्झौता अनुमोदनका लागि संसदको कार्यसूचीमा हुनुपर्छ। जसका लागि सभामुखसहितको कार्यव्यवस्था परामर्श समितिले सहमति गर्नुपर्छ। कार्यव्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार प्रधानमन्त्री केपी ओली पक्षधर नेकपाका केही नेताले केही दिनअघि एमसीसी अनुमोदन गराउने विषयमा समितिमा चर्चा उठाएका थिए।
तर, नेकपाकै अन्य सदस्यहरुले एमसीसीका विषयमा थप राजनीतिक सहमति हुनुपर्ने भन्दै टारेका थिए।
यता नेपालको नयाँ राजनीतिक एवं प्रशासिनक नक्सालाई संविधान संशोधन गरी पारित गराउने विषय पनि अन्योलमा छ।
नक्सा पारित गराउन बनेको संविधान संशोधन विधेयक प्रतिनिधिसभामा टेबुल भएको छ तर छलफल अगाडि बढेको छैन।
प्रवक्ता पाण्डेले बजेटमाथि छलफल भइरहेकाले संविधान संशोधन विधेयकमा छलफल गर्न केही समय लागेको बताए।
कार्य व्यवस्था परामर्श समितिका एक सदस्यका अनुसार राजनीतिक दलहरुबीच सहमति नभई संविधान संशोधन विधेयक अगाडि बढाउन कठिन छ। त्यसैले तत्कालै नक्सासम्बन्धी संशोधन नहुने उनको दाबी छ।