सर्वोच्च अदालतले बन्दाबन्दी (लकडाउन) का कारण रोकिएका विभिन्न आठ किसिमका सेवा बिहीबारदेखि सुचारु गरेको छ।
चैत ९ गतेदेखि अदालतको सेवामा कटौती गरेको सर्वोच्च प्रशासनले बिहीबारदेखि थप निवेदनहरुमा सुनुवाई सुरु गरेको जनाएको छ।
सर्वोच्चका उपरजिष्टार देवेन्द्र ढकालका अनुसार अब अदालतले थप आठ किसिमका सेवा थप गरेको छ।
लकडाउन अवधिभर सर्वोच्च अदालतले बन्दी प्रत्यक्षीकरणका निवेदन, कोभिड–१९ सँग सम्बन्धित रिट, नेपाल सरकार निवेदन भएका दोहोर्याइपाउँ भन्ने निवेदन र पुनरावेदन, विपक्षी झिकाउ आदेश भइनसकेका निवेदन, साधक जाँचका मुद्दाहरु सुनुवाई हुँदै आएको थियो।
सुरु गरिएका सेवाहरुमा बन्दाबन्दीमा दर्ता भएका रिट निवेदनको कारवाही र सुनुवाई, सम्बन्धित पक्ष वा कानून व्यवसायी उपस्थित हुन सक्ने अवस्थाका मुलुकी फौज्दारी कार्यविधि संहिता २०७४ को दफा ७३ बमोजिमका निवेदन र कारवाही लगायतका छन्।